काठमाडौ २४ माघ ।
सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमीका ३३ जिल्लालाई लक्षित गरी सरकारले आजदेखि दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ ।
दोस्रो अभियानमा ३३ जिल्लाका १८ लाख भन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप दिइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमका अनुसार दादुरा र रुबेला विरुद्धको खोपसँगै ५ वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा पनि खुवाइने छ ।
दादुरा र रुबेला विरुद्धको खोप ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दिइने छ । पहिलो खोप ९ महिनामा लगाएकाले १५ महिना भएपछि फेरि दादुरा र रुबेला बिरुद्धको दोस्रो खोप लगाउनुपर्छ ।
मुलुकका अधिकांश स्थानमा एक पटक खोप लगाइसकेका बालबालिकामा पुनः दादुरा र रुबेला देखिएकाले खोप लगाउन सरकारले अभिभावसँग आग्रह गरेको छ ।
सन् २०१९ सम्म नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान थालेको हो । महाशाखाले यस अघि भूकम्प अति प्रभावित १४ जिल्लामा पहिलो चरणको खोप अभियान चलाएको थियो ।