कञ्चनपुरको दक्षिण क्षेत्र बेल्डाँडी नगरपालिका–१० झिलमिलामा रहेको स्वास्थ्य चौकीमा औषधिको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ ।
स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिमध्ये झन्डै १० प्रकारको औषधि सकिएको तीन महिना बितिसक्दा पनि अभाव कायम नै रहेपछि यहाँस्थित रौतेलीविचुवा स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई अन्यत्र निजी स्वास्थ्य संस्थामा पठाउनुपरेको स्वास्थ्य चौकी प्रशासनले जनाएको छ ।
स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट रञ्जीत यादवले औषधि अभावका कारण स्वास्थ्य चौकीमा आउने बिरामीलाई पूर्णरुपमा सेवा दिन नसकिरहेको बताउनुभयो ।
“माथिबाटै औषधि छैन भनेर खबर आउँछ ।” यादवले भन्नुभयो – “भौगोलिक विकटताका कारण पनि यहाँका सेवाग्राहीलाई उपचारका लागि अन्यत्र जानै समस्या छ ।” चार हजार ७०० घरधुरी रहेको झिलमिला क्षेत्रका नागरिक प्रायः आर्थिक रुपले विपन्न समुदायका रहेका छन् ।
“यहाँ बिरामी परे महेन्द्रनगर, धनगढी जान बाटोघाटो, सवारी साधन सञ्चालन नहुँदा समस्या हुने गर्छ ।” यादवले भन्नुभयो – “स्वास्थ्य चौकीमा आउने बिरामीलाई त्यसै फर्काउनुपर्ने अवस्था छ ।”
तीनदिनअघि नेपाली सेनाले सो क्षेत्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २६२ जना स्थानीयवासीको निःशुल्क उपचार गरेको थियो ।
सेनाले शिविर सञ्चालनपछि बाँकी रहेको विभिन्न प्रकारको औषधि स्वास्थ्य चौकीलाई उपलब्ध गराएको छ । “सेनाले औषधि दिएपछि अब केही दिन उपचारमा सहज हुनेछ ।” प्रमुख यादवले भन्नुभयो – “औषधि सहयोगले उपचारमा निकै सहज हुन्छ ।”
यता जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले औषधि खरिदका लागि टेन्डर प्रक्रिया भइसकेकाले छिट्टै औषधि आपूर्ति हुने दाबी गरेको छ । जिल्लामा औषधि सकिएको महिनौँ भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस