काठमाडौ, २३ माघ ।
नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताउनुभएको छ ।
भोजपुरे सेवा समाजको विशेष साधारणसभालाई सम्बोधन गर्दै उहाले भन्नुभयो,“औपचारिक रुपमा नाकाबन्दी हटेको घोषणा नभए पनि शुक्रबारदेखि वीरगन्जको मुख्य नाका खुलेको छ, अब चाँडै नाका पूर्ण रुपमा खुलेको सन्देश आउँछ ।”
प्रवक्ता राईले संविधान निर्माण जस्तो मुख्य काम पूरा भएर देश सामान्य अवस्थामा जाँदै स्थिर रहेकाले अब मुलुकले आर्थिक विकासको गति लिने बताउनुभयो ।
संविधानले सबै जाति, धर्म, क्षेत्र र समुदायका जनतालाई समान ढङ्गले सम्बोधन गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधानले सबैलाई न्याय गर्ने प्रयास गरेको छ, कसैलाई अन्याय भएको महसुस भएमा संशोधन गर्ने ठाउ छ ।”
कार्यक्रममा पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, समाजका अध्यक्ष पासाङदोर्जी शेर्पा, पूर्वअध्यक्ष कुलप्रसाद पराजुली र दयाकृष्ण न्यौपाने लगायतले भोजपुरको विकासका लागि सबै पेसा, क्षेत्र र समुदायका व्यक्ति तथा समुदाय एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
समाजको निर्वाचनले ६५ सदस्यीय परिषद् र २१ सदस्यीय कार्यसमितिको चयन गर्ने छ ।