काठमाडौँ, १८ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीमा भएको एकता एवम् सामाजिक सद्भाव कसैले तोडाउन नसक्ने बताउनुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको एक दिने बाल राष्ट्रिय गीत सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीमा देशभक्ति र राष्ट्रिय एकताको भावना प्रबल भएकाले कसैले हाम्रो स्वाधीनता झुकाउन सक्दैन, हामी कसैको दासता स्वीकार्न तयार छैनौ ।”
प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्मका नेपाली नागरिक राष्ट्रियता र एकताको भावनाले ओतप्रोत भएकाले राष्ट्र कमजोर नहुने विश्वास दिलाउनुभयो ।
प्रतिष्ठानका कुलपति सरुभक्तले बाल मनस्थितिबाट राष्ट्र र राष्ट्रियताप्रतिको भावना जगाउन बालगीत सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानकी प्राज्ञ सदस्य एवम् सङ्गीत विभाग प्रमुख उन्नति बोहरा ‘शीला’, ले जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने भावना बालबालिकामा जगाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका व्यवस्थापक एवम् संस्थागत विद्यालयको सङ्गठन (ओप्स) का अध्यक्ष लोकेन्द्रबहादुर खड्काले बाल मनोविज्ञानमा राष्ट्रिय भावना जगाउन सम्मेलन प्रभावकारी हुने आशा प्रकट गर्नुभयो । सम्मेलनमा “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे” भन्ने भावका राष्ट्रिय भावना ओतप्रोत गीत प्रस्तुत गरिएको थियो ।
उपत्यकाका २० वटा संस्थागत विद्यालयको सहभागिता रहेको कार्यक्रममा गायक प्रमोद खरेल र गायिका निशा देसारले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।