पर्वत, १२ माघ ।
पर्वत जिल्लाको उत्तरी क्षेत्रका चार गाविसलाई म्याग्दीको सदरमुकामसँग जोड्ने पर्वत–बेनी–मल्लाज–शालिजा सडक आयोजना सुरु भएको छ ।
डिभिजन सडक कार्यालय बागलुङले पर्वत–बेनी हुँदै मल्लाज जोड्ने चार किलोमिटर दूरीको सडकको स्तरवृद्धि गर्न आयोजना सुरु गरेको हो । पर्वत क्षेत्र नं १ बाट निर्वाचित सांसद अर्जुनप्रसाद जोशीको सिफारिसमा आयोजना सञ्चालन भएको हो ।
निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा रु पाँच करोडसम्मको एउटा आयोजना सञ्चालन गर्न सिफारिस गर्न पाउने व्यवस्थाअनुसार जोशीले पर्वत–बेनी–मल्लाज–शालिजा सडकलाई सिफारिस गर्नुभएको हो ।
बिएन जेभी थोडुङ कन्स्ट्रक्सनले उक्त सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, ग्याबिन पर्खाल लगाउने, आरसिसी ढलान गर्नेलगायतका कामको ठेक्का पाएको छ । रु चार करोड २२ लाख लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धामार्फत रु तीन करोड ७७ लाखमा सडक विभाग र ठेकेदार कम्पनीबीच सम्झौता भएको हो ।
सात वर्ष लगाएर २०७१ असोज १५ गते बाटो खोल्ने काम सकिएको उक्त सडक प्राविधिक हिसाबले प्रतिकूल, साँघुरो र ठाडो उकालो भएकाले सवारी साधन सञ्चालन हुन सकेको छैन ।
आयोजनामार्फत सडकलाई आठ मिटर चाक्लो बनाउने र गे्रड मिलाउन प्राथमिकता दिइएको छ । उक्त आयोजना सम्पन्न भएर सवारी साधन सञ्चालनमा आएमा उत्तरी पर्वतको माझफाँट, लेकफाँट, शालिजा र बाँसखर्कका बासिन्दालाई एक घन्टा घुमाउँरो बाटो प्रयोग गर्नुपर्ने समस्या हट्नेछ । सो क्षेत्रका बासिन्दा सवारी साधनमार्फत १० मिनेटमै बेनी–मल्लाज आवतजावत गर्न सक्छन् ।