काठमाडौँ, ११ माघ ।
सूचनाको हकका बारेमा जनतामा पर्याप्त जानकारी दिने उद्देश्यले प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले लेख्नुभएको ‘सूचनाको हकको पक्षमा’ आज सार्वजनिक गरिएको छ ।
मिडिया इन्टरनेसनलको आयोजनामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु किशोर नेपाल, धर्मेन्द्र झा र तारानाथ दाहाल तथा वर्तमान अध्यक्ष डा महेन्द्र विष्ट तथा सूचना आयुक्तद्वय यशोदा तिम्सिना र किरण पोखरेल एवम् लेखक बाँस्कोटाले संयुक्तरुपमा पुस्तकको विमोचन गर्नुभयो ।
टिप्पणीकारका रुपमा रहनुभएका महासङ्घका पूर्व अध्यक्ष झाले ४७ शीर्षकमा रहेको उक्त पुस्तकका विषयवस्तु सूचना आयोगकै वरपर घुमेको बताउँदै अत्यन्त सरल भाषामा लेखिएकाले पाठकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष डा विष्टले उक्त पुस्तकले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि पनि महत्वपूर्ण हुने विचार व्यक्त गर्दै जनतामाझ सूचना प्रवाह गर्ने र पहुँच बढाउने कामका लागि आयोगले अझै मेहनत गर्नुपर्ने बताउनुभयो ।
महासङ्घका अर्का पूर्व अध्यक्ष दाहालले सूचनाको हकसम्बन्धी पर्याप्त भ्रम रहेकाले त्यसलाई चिर्न यस्ता पुस्तक अझै आउनुपर्नेमा जोड दिनुभयो ।
अर्का पूर्व अध्यक्ष नेपालले सूचना आयोगलाई संवैधानिक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै पूर्ण सूचना प्राप्त गर्नु मानिसको अधिकार हो भन्नुभयो ।
आयुक्त पोखरेलले भ्रष्टाचार न्यूनीकरण नभई सूचनाको हकको कार्यान्वयन हुन नसक्ने भन्दै यसका लागि जनतालाई सूचनाको हकबारे सुसूचित गराउनु आवश्यक रहेको बताउनुभयो ।
अर्का आयुक्त तिम्सिनाले जनतालाई सूचनाको हकबारे जानकारी दिन उक्त पुस्तक कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
प्रमुख आयुक्त तथा पुस्तकका लेखक बाँस्कोटाले आफू नेपाल सरकारको सचिव पदमा रहँदा सूचना प्रवाह गरेकै आधारमा प्रचारमुखी सचिव भन्ने आरोप लाग्ने गरेको स्मरण गर्दै यस पुस्तकका माध्यमबाट आफू सूचनाको हकको अभियानमा कुन स्थानमा पुगेछु भन्ने थाह पाउन पुस्तक लेखेको बताउनुभयो ।
उक्त पुस्तकमा सूचनाको अधिकारमा सार्वजनिक निकायको भूमिका, सुशासन र सूचना अधिकारीको भूमिका, यसका चुनौती र सम्भावनालगायतका विषयलाई उठान गरिएको छ भने अर्को एक शीर्षकमा एक वर्षको अवधिमा आयोगले गरेका काम कारबाहीलाई डायरीका रुपमा प्रस्तुत गरिएको छ ।