काठमाडौँ, ८ माघ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बङ्गलादेशबीचको व्यापारिक एवम् वाणिज्य सम्बन्ध सुदृढ गर्न निजी क्षेत्रको पहल पनि महत्वपूर्ण हुने बताउनु भएके छ ।
उच्च प्रतिफल दिने तुलनात्मक लाभका जलविद्युत्, पर्यटन, कृषि, कृषि प्रशोधन, उत्पादन तथा सेवाका अन्य क्षेत्रमा बङ्गलादेशका लगानीकर्तालाई पुँजी लगाउन आह्वान गर्दैं उहाँले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले निःसङ्कोच नेपाललाई लगानी गन्तव्य बनाउन अनुरोध गर्नुभयो ।
बङ्गलादेशी राजदूतावासले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्दै परराष्टमन्त्री थापाले उच्च प्रतिफल दिने कृषि ,जलबिद्युत लगायतका क्षेत्रमा बंगलादेशका लगानीकर्तालाई भित्राउन पहल गर्नुपर्नेमा जोड दिनुभएके हो ।
उहाले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले निःसङ्कोच नेपाललाई लगानी गन्तव्य बनाउन अनुरोध समेत गर्नुभयो । बङ्गलादेशसँगको सबैभन्दा निकटको व्यापार मार्ग काँकडभिट्टा–पानीट्याङ्की–फूलबारी–बङ्गलाबन्धको सञ्चालनलाई सरकारले उच्च प्राथमिकता दिएको पनि उहाले जानकारी दिनुभयो ।
बङ्गलादेशका वाणिज्य सचिव हेदितुल्लाह अल ममुनले नेपालसँगको व्यापारलाई आफ्नो मुलुकले उच्च प्राथमिकता दिएको बताउँदै व्यवधानरहित सडक सम्पर्कबाट दुबै देशलाई जोड्दा लक्ष्यित उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्टे शाम्सले विश्वका एकसयभन्दा बढी मुलुकमा आफ्नो देशले उत्पादन निर्यात गर्दै आएको तर नेपालसँग अत्यन्त न्यून मात्रामा व्यापार भइआएकाले पारस्परिक व्यापार वृद्धिका अवसरको खोजीका निम्ति कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
बङ्गलादेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अब्दुल मतलब अहमदले बङ्गलादेशी व्यापारीलाई नेपालमा लगानी गर्न सहज कानुनी प्रावधानको व्यवस्था गर्न तथा प्रवेशाज्ञा शुल्कलगायत जटिलताको अन्त्यका लागि अनुरोध गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छाले नेपाल र बङ्गलादेशबीचको व्यापार निरन्तर घटिरहेकामा दुःख व्यक्त गर्दै दुवै देशका व्यापारिक प्रतिष्ठानबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।