काठमाडौँ, ७ माघ ।
व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको कार्यावधि १५ दिन थप भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकले बैठकमा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यावधि थप सम्बन्धि प्रस्ताव प्रस्तुत गर्नुभयो ।
बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पेस गर्नुभयो ।
आजैको बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा ‘खुल्ला विश्वविद्यालय विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो ।
त्यस्तै, स्वास्थ्यमन्त्री रामजनम चौधरीले ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी सदनमा प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भयो ।
त्यसैगरी, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले नेपाल, भारत, भुटान र बङ्गलादेशबीच मालबाहक, व्यक्तिगत र यात्रु सवारी नियमनसम्बन्धी सम्झौता अनुमोदन गरियोस भन्ने प्रस्ताव पेस गर्नुभयो ।