मोरङ,७ माघ ।
मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्ताले आज पनि बन्द आह्वान गरेका छन् ।
मोर्चाका कार्यकर्ता सडकमा भेला भएर बन्द गराउँदै हिँदेका छन् भने युवा संघका कार्यकर्ता पनि कार्यक्रम सफल बनाउने अभियानमा लागेकाले दुई पक्ष सडकमा झडप हुन सक्ने अवस्था देखिएको भन्दै रंगेलीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
युवा संघका मोरङ अध्यक्ष मुकेश बुढाथोकीले आफ्नो निर्धा्रित कार्यक्रम जसरी पनि सञ्चालन गर्ने भन्दै मोर्चाको बन्द हड्तालले कुनै असर नगर्ने बताउनु भयो ।
यता संघीय समाजवादी फोरम नेपालकी मोरङ अध्यक्ष राजकुमारी यादवले आफूहरुले पहिल्यै निर्धारण गरेको कार्यक्रम भएकाले आज विशाल सभा हुने भन्दै कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।
मोर्चाले प्रधानमन्त्री लगायतका शीर्ष नेता मोरङ आउने भनेपछि बुधबार र आज हड्तालसहित विशाल सभा गर्ने कार्यक्रम तय गरेको थियो ।
युवासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपनि अन्तिम समयमा आएर प्रधानमन्त्री कार्यक्रमका लागि रंगेली नजाने भएका छन् । यद्यपी एमालेका शीर्ष नेताहरु कार्यक्रममा सहभागी हुनेछन् ।
मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण हिजोपनि दिनभर रंगेली तनावग्रस्थ बनेको थियो ।