कञ्चनपुर, ५ माघ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आगामी फागुनमा भीमदत्तनगरमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
स्थानीय कला संस्कृति र उद्योग व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घले फागुन २३ गते देखि ३० गते सम्म खुलामञ्चमा क्षेत्रीयस्तरको महोत्सव आयोजना गर्न लागेको हो ।
मेलाबाट सुदूरपश्चिमको आर्थिक विकास, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र स्थानीय उत्पादनको प्रवद्र्धन हुने आशा राखिएको छ । सुदूरपश्चिमका सबै जिल्लाका लोकसंस्कृतिलाई महोत्सवमा मुख्य आकर्षणका रुपमा राखिने सङ्घका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्लले बताउनुभयो ।
लघु उद्यम, अटो मेकानिक्स, कृषि, तयारी कपडा, जुत्ताचप्पल, सूचना प्रविधि, दैनिक उपभोग्य र कृषि निर्माण सामग्री, शिक्षा तथा स्वास्थ्य, हस्तकला र बैंक तथा वित्तीय संस्था, केराबाट निर्मित वस्तुका कक्ष मेलामा राखिने जनाएको छ । सङ्घले विसं २०५७ देखि नियमित रुपमा मेला आयोजना गर्दै आएको छ ।