काठमाडौँ, ४ माघ ।
अर्थ समितिले “बैँक तथा वित्तीय संस्था सम्बन्धी विधेयक, २०७२” माथी सैद्धान्तिक छलफल गर्न उपसमिति गठन गरेको छ ।
अर्थ समितिको आजको बैठकले सो विधेयकका सम्बन्धमा परेका संशोधनका बारेमा थप छलफल गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्ने कार्यादेशसहितको उपसमिति गठन गरेको हो । बैठकमा समितिका सभापति प्रकाश ज्वालाले उपसमितिमा समितिका सदस्यहरू उदयसमसेर राणा, दीपक कुँइकेल, ईच्छाराज तामाङ, केदारप्रसाद सञ्जेल, गोमा कुँवर, विमलकुमार केडिया र गोपाल दहित रहनुहुने बताउनुभयो ।
सो विधेयकमा नौ सांसदले आर्थिक अनुशासन कायम गर्ने, आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने, लगानीकर्ता, निक्षेपकर्ता र ऋणिको हित हुनेलगायतका ५२ संशोधन दर्ता गर्नुभएको छ ।
विधेयकमाथि सांसदहरु तामाङ, भीष्मनाथ अधिकारी, प्रेमबहादुर आले, गणेशकुमार पहाडी, उमेश श्रेष्ठ, डा बाबुराम पोखरेल, यज्ञराज सुनवार, कुवँर, जनकराज जोशी, कृष्णभक्त पोखरेल, प्रभादेवी बज्राचार्य, पेम्बा लामा, सञ्जेल, विनोद श्रेष्ठ, चुडामणि विक, प्रमिला राणा, कृष्ण धिताल र पुष्कर आचार्यले बैँक तथा वित्तीय संस्थाको सेयर बाँडफाँड, कर्मचारीको युनियन अधिकार, सञ्चालक समितिको अध्यक्षको कार्यकाल, बैँकिङ कसुर, अन्य ऐनसँग बाँझिएका बुदाँलगायत विषयमा संशोधन दर्ता गराउनुभएको छ ।