काठमाडौं, ४ माघ ।
नेकपा एमालेले पार्टीको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभत्त ढकालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संसदीय दलको बैठकले ढकालको संयोजकत्वमा सचेतक गोकुल घर्ती, सांसद्हरु डा वंशीधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मियाँ रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलले यही १० गतेभित्र दलका नेता ओलीलाई प्रस्ताव दिनुपर्नेछ । यस्तै पार्टीको संसदीय बोर्ड गठनको नामावली तयार गर्न प्रमुख सचेतक र सचेतकलाई जिम्मा दिइएको छ ।
बैठकमा सरकारको सय दिनको कामकारबाहीको विषयमा समेत समिक्षा भएको थियो ।
बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई संविधान संशोधनका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभएको छ ।
संसदीय दलका नेता समेत रहनु भएका ओलीले पार्टीले गरेका निर्णय र सहमति कार्यान्वयनको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिनुभएको हो ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले सरकारको काम कारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।