जाजरकोट, २ माघ ।
जाजरकोटमा निर्माण हुन लागेको नलसिंगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण कार्य सुरु गरिएको छ ।
कुल रु २१ करोडमा निर्माण कार्य थालिएको यो पहँुचमार्गको सडक १०.८ किमी रहेको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौताअनुसार २०७१ वैशाख ३१ गते गाल्भा खड्का जेभी निर्माणसेवाले ठेक्का लिएको थियो । निर्माण कार्यको सम्झौता गरेको एक वर्षपछि पहुँचमार्ग निर्माणको शुभारम्भ आज गरिएको छ ।
निर्माण कार्य सुरु नगरेरै रु दुई करोड रकम नलसिंगाड आयोजनाबाट लिएको निर्माणसेवाले अबको बाँकी एक वर्षभित्र पहुँचमार्ग निर्माण कार्य सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ ।
पावरहाउस निर्माणस्थलदेखि सक्ला अँधेरीखोलास्थित बाँध निर्माणस्थलसम्म निर्माण गरिने यो सडकको बीचमा खारानजिक पुल निर्माण गरिनेछ । आयोजनास्थलसम्म जानका लागि सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएका कारण छिटो निर्माण गर्न स्थानीयले माग गरेका छन् । नलगाड सरोकार समितिले ढिलै भए पनि पहुँचमार्ग निर्माणका लागि आज सुरु भएको सडक उद्घाटनबाट आफूहरु खुसी भएको समितिका अध्यक्ष गणेश सिंहले बताउनुभयो ।
अब छिटो सडक निर्माण गरी आयोजनाको काम छिटो अगाडि बढाउन सबैमा सिंहले अनुरोध गर्नुभयो । पावरहाउस निर्माणस्थलमा जग्गा अधिग्रहण कार्य सम्पन्न गरेको र बाँधस्थलमा जग्गा अधिग्रणको काम सुरु गरिने नलगाड जलविद्युत् आयोजनाका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिनुभयो ।
अहिले ४१० मेगावाट विद्युत् उत्पादन हुने भनिएपनि विज्ञका अनुसार सबैभन्दा सस्तो रकममा ६०० मेगावाटसम्म विद्युत् निकाल्न सकिने आयोजनाका अध्यक्ष शाहीले बताउनुभयो । यो आयोजनाले खगेनकोट, सक्ला र लहँ गाविसलाई छुने गर्दछ ।