उद्योग क्षेत्रको प्रवद्र्धनका लागि बाह्रबँदे प्रतिबद्धता सार्वजनिक

उद्योग क्षेत्रको प्रवद्र्धनका लागि बाह्रबँदे प्रतिबद्धता सार्वजनिक

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २३ पुस । भूकम्प र नाकाबन्दीले शिथिल बनेको मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रको प्रवद्र्धन विकासका लागि सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ ।

उद्योग मन्त्रालयले आज पत्रकार सम्मेलन गरी विभिन्न विषयमा १२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अर्थतन्त्रलाई टेवा पुग्ने गरी औद्योगिक प्रवद्र्धनका कार्यक्रम ल्याएको हो ।

भूकम्प र नाकाबन्दीको सबैभन्दा बढी मार उद्योग क्षेत्रमा परेको भन्दै मन्त्रालयले उद्योग सञ्चालनको सहजीकरण, संरचनागत सुदृढीकरण तथा पूर्वाधार निर्माणका माध्यमबाट औद्योगिक लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी कार्यक्रम ल्याएको छ । मन्त्रालयले सम्पादन गर्दै आएको नियमित वार्षिक कार्यक्रम तथा तत्कालीन परिस्थिति र नयाँ संविधानको नीतिगत व्यवस्थालाई समेत ध्यानमा राखी विद्यमान ऐन तथा नीतिगत सुधारका कार्यक्रम ल्याइएको छ ।

पेट्रोलियम पदार्थसम्बन्धी र धातुजन्य खानीको अन्वेषण, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको विकास र विस्तार, सरकारी उद्योग सञ्चालन र निजी क्षेत्रका उद्योगको प्रवद्र्धन तथा औद्योगिक उत्पादकत्व एवम् गुणस्तर अभिवृद्धि, वैकल्पिक ऊर्जा उत्पादन प्रवद्र्धन, भूकम्पको भौगर्भिक असरको नक्साङ्कन गर्ने कार्यको प्रतिबद्धता जनाइएको छ ।

घोषित प्रतिबद्धता बमोजिम कार्यक्रमको प्रभावकारी कार्यान्वयनको व्यवस्थाका लागि नियमित एवम् नतिजामूलक अनुगमनको व्यवस्था गरिने र तीन÷तीन महिनामा समीक्षा तथा मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।

अहिलेको असहज परिस्थितिलाई ध्यानमा राखी हालै मन्त्रिपरिषद्बाट आर्थिक पुनरुद्धार कोषको स्थापना गरिएको मन्त्रालयले जनाएको छ । उक्त कोषअन्तर्गत पर्यटन तथा उत्पादनमूलक उद्योगले लिएको ऋणको सावाँ र ब्याज भुक्तानीको पुनःतालिकीकरण, ब्याज अनुदानको व्यवस्था (२०७२ साउन १ गतेदेखि पुस मसान्तसम्म रु १० करोडसम्मका लागि चार प्रतिशत र रु १० करोडभन्दा माथिको रकमका हकमा दुई प्रतिशत), पुनःकर्जासम्बन्धी व्यवस्था (रु पाँच करोडसम्म पूरै, रु पाँच करोडभन्दा बढीको हकमा २० प्रतिशत) व्यवस्था गरिएको छ ।

सीमा नाकामा अवरोधका कारण रोकिएका सामानको भन्सार शुल्क मिनाहा गर्ने, उद्योग सञ्चालनार्थ पेट्रोलियम पदार्थको माग भई आएमा सम्बन्धित निकायलाई सिफारिस गर्ने र औद्योगिक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले केही नयाँ कार्यक्रमका साथ मन्त्रालयका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्धतापत्र ल्याइएको बताउनुभयो । उद्योग राज्यमन्त्री मेघराज नेपालीले प्रतिबद्धतापत्र कार्यान्वयनका लागि मातहतका निकाय र विभागीय प्रमुख जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले कम्तीमा पनि असार मसान्तसम्म परिणाम देखिने गरी कार्यान्वयन गरिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी