क्रसर उद्योग चुरे संरक्षणमा चुनौती बन्दै

क्रसर उद्योग चुरे संरक्षणमा चुनौती बन्दै

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, २२ पुस ।

चुरे संरक्षणको लागि सरकारले लाखौ रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जङ्गल र खोला किनारमा अवैध रुपमा खुल्ने क्रसर उद्योग चुरे संरक्षणमा चुनौती बन्दै गएका छन् ।

धनुषाको रातो खोला किनारमा मात्रै चार वटा क्रसर उद्योग अवैध रुपमा सञ्चालनमा छन् । अवैध रुपमा बालुवा, गिट्टी उठाउने गरेका कारण वन जङ्गल विनास भइरहेको छ । सरोकारवाला निकाय यसलाई रोक्नको लागि गम्भीर नेदखिएका कारण समस्या बढ्दै गएको छ । वन विनास अत्यधिक रुपमा बढेको छ भने क्रसर उद्योगले जथाभावी रुपमा नदीबाट बालुवा, गिट्टिका निकाल्ने गरेका छन् ।

क्रसर उद्योगका कारण तटबन्द जोखिममा परेको छ । रोक्नुपर्ने निकायले नै ती उद्योगसित लाभ लिँदा समस्या देखिएको हो । स्थानीय ज्ञानबहादुर राई खोला किनारमा रहेको क्रसरले बालुवा लिएर जाँदा आफ्नो घरमा समेत बालुवा पसेको बताउनुहुन्छ । “राति राति बालुवा ओसार्दा हैरान भएको छु” उहाँले भन्नुभयो । जथाभावी बालुवा झिक्दा तटबन्ध नै भत्किने खतरा रहेको छ । लालगढका स्थानीयवासी कुमारी तमाङ ३५ घरधुरी जोखिममा परेको बताउनुहुन्छ ।

क्रसर उद्योग सञ्चालन गर्दा घरेलु तथा साना उद्योग कार्यालयले तोकेको मापदण्डअनुसार खोला किनार तथा राजमार्गदेखि ५०० मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, सांँस्कृतिक पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष र घनाबस्तीदेखि २०० मिटर तथा चुरे क्षेत्रदेखि एक किलोमिटर टाढा हुनुपर्ने प्रावधान छ । तर यस्ता मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्चालन गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले त्यसतर्फ चासो नदिँदा समस्या भएको स्थानीयको आरोप छ ।

खोला उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा, जिल्ला बाहिर तथा भारतसमेत निकासी हुने गरेको छ । जिल्ला विकास समितिले आन्तरिक आम्दानीका लागि खोला ठेक्का लगाउने र एक्साभेटर प्रयोग गर्न दिने, उद्योगको नियमन गर्ने जिम्मा पाएको घरेलु तथा साना उद्योग कार्यालयले कानुनी अधिकार प्रयोग नगर्दा खोलाको दोहन नरोकिएको हो । चुरे आफैमा कमलो हुन्छ । चुरे क्षेत्रबाट अनियन्त्रित तरिकाले उत्खनन् गरिएपछि नदी तथा खोलाको बग्ने दिसा नै परिवर्तन हुन्छ भने कटान बढ्दै जान्छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा चुरे क्षेत्रमा जथभावी रुपमा बढेको क्रसर उद्योगको कारण तराईमा भु–क्षयको खतरा बढ्दै गएको बताउनुहुन्छ । “यसलाई रोक्न ठोस नीतिको आवश्यकता छ, अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगलाई बन्द गरिनुपर्छ” उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी