निजी टेलिकम कम्पनी एनसेलले पूरै हिस्सा बिक्री गर्ने घोषणा गरे पनि औपचारिक रूपमा २० प्रतिशत अन्तर्गतको सेयर मात्र खरिद/बिक्री गर्ने भएको छ । कम्पनीको प्रस्ताव अनुसार नेपाली लगानीकर्ता तर्फको २० प्रतिशत सेयर खरिद/बिक्रीका लागि उद्योग विभागले अनुमति दिएपछि प्रक्रिया अघि बढाएको छ ।
विभागका एक अधिकारीका अनुसार ‘सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)’ का लागि सैद्धान्तिक सहमति दिइएको हो । सहमतिअनुसार एनसेलमा २० प्रतिशतका लगानी गरेका निरजगोविन्द श्रेष्ठको सेयर भावना सिंहको कम्पनी सुनिवेरा क्यापिटल भेन्चरले किन्न सक्ने छ ।
‘कम्पनीको पुँजी र क्षमता वृद्धिको सर्त राखेर एसपीएको लागि सैद्धान्तिक सहमति दिइएको हो,’ ती अधिकारीले भने, ‘सर्तबमोजिम पुँजी वृद्धिको प्रस्ताव पनि पेस गरिसकेको छ ।’ यसअघि विभागले बोनस वितरणका क्रममा कम्पनीको पुँजी र स्वीकृति लिएको रकम फरक भएको भन्दै प्रक्रिया अघि बढाएको थिएन । उक्त कारणले ८ अर्ब ८० करोड रुपैयाँ बोनस विदेश लैजाने प्रक्रिया अवरुद्ध भएको थियो । सेयर खरिद/बिक्रीका लागि सैद्धान्तिक सहमति दिन प्रस्ताव पेस गरेपछि विभागले पुँजी वृद्धिको काम तत्काल गर्नुपर्ने सर्त राखी अनुमति दिएको हो ।
सेयर खरिद/बिक्रीको अनुमति विभागले तीन दिनअघि दिएको हो । तर, प्रक्रिया पूरा भइसकेको छैन । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको कम्पनीको सेयर खरिद बिक्रीको अनुमति सुरुमा विभागबाट लिनुपर्छ । विभागको सैद्धान्तिक सहमतिपछि कम्पनी रजिस्ट्रारको कार्यालयले खरिदबिक्रीको कारोबार गराउने हो । ‘आन्तरिक राजस्व विभाग, दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकका प्रतिनिधिहरू सहितको बैठकपछि सहमति दिने निर्णय गरिएको हो,’ अर्का एक अधिकारीले भने, ‘सैद्धान्तिक सहमतिको बोधार्थ आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकलाई पनि दिइएको छ ।’ यस विषयमा उनीहरूले आवश्यकताअनुसार अध्ययन गर्न पाउने छन् । एनसेलको ८० प्रतिशत सेयर किनबेचको विषयमा भने हाल प्रक्रिया अघि बढाएको छैन ।
८० प्रतिशत सेयर हाल रेनहोल्ड होल्डिङ लिमिटेड नेभिस वेस्टइन्डीजको नाममा छ । एनसेलका अनुसार उक्त लगानी टेलियासोनेरा र भाइजर कम्पनी अन्तर्गतको हो । उक्त दुवै लगानी मलेसियाको एक्सिएटालाई बिक्री गर्ने सहमित भइसकेको टेलियासोनेराले विज्ञप्तिमार्फत दुई साताअघि सार्वजनिक गरेको थियो ।
तर, उक्त घोषणा अनुसारको प्रक्रिया भने सरकारी निकायमा अघि बढाएको छैन । विभाग स्रोतका अनुसार १ सय रुपैयाँका दरले २ लाख कित्ता सेयर खरिद/बिक्रीको सैद्धान्तिक सहमति पाएको हो ।
उक्त सेयर खरिद गर्नका लागि नेपाली नागरिक सिंहले दुई छुट्टाछुट्टै कम्पनी दर्ता गरेकी छन् । कम्पनी स्रोतका अनुसार सिंहको शत प्रतिशत सेयर रहेको सनग्लोरी इन्भेस्टमेन्ट कम्पनी दर्ता गरिन् । उक्त कम्पनीले सुनिवेरा क्यापिटल भेन्चर प्रालि दर्ता गर्यो । उक्त कम्पनीले गैरआवासीय नेपाली (एनआरएन) रहेका श्रेष्ठको सेयर किन्न लागेको हो । सिंहले १ करोड लागत रुपैयाँमा कम्पनी दर्ता गरेकी हुन् ।
‘दूरसञ्चार क्षेत्रमा विदेशीले ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ,’ एक उच्च अधिकारीले भने, ‘भावनाले दर्ता गरेको कम्पनीमा समेत विदेशीले लगानी गर्न नपाउने सर्त गरी सेयर खरिद/बिक्रीको अनुमति दिएको बुझिन्छ ।’ तर, टेलियासोनेराले विज्ञप्तिमा जनाएअनुसार सुनिभेरा कम्पनी सिंगापुरमा दर्ता भएको आजको कान्तिपुरमा खबर छ । उक्त कम्पनीले २० प्रतिशत सेयर खरिद गर्ने उल्लेख गरिएको छ । दूरसञ्चार नीति २०६० अनुसार विदेशीले दूरसञ्चार क्षेत्रमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न पाउने छैनन् ।
टेलियासोनेराले विज्ञप्तिमा जनाएअनुसार ८० प्रतिशत एक्सिएटाले किन्न सक्ने भए पनि २० प्रतिशत सिंगापुरमा दर्ता भएको सुनिवेरा कम्पनीले किन्न पाउने छैन । तर सुनिवेरा क्यापिटल भेन्चर नामकै कम्पनी नेपालमा दर्ता गरेर कानुनी रूपमा वैधानिक उपाय अपनाएर प्रक्रिया अघि बढाएको छ । ‘सुनिवेरा सिंगापुरमा दर्ता भए नभएको विषयमा हाम्रो कानुनले हेर्न मिल्दैन,’ वैदेशिक लगानीको क्षेत्रमा काम गरिरहेका एक अधिकारीले भने ।
विभागका अधिकारीका अनुसार नेपालमा दर्ता भएको सुनिवेराले १ सय रुपैयाँका दरले सेयर खरिदको अनुमति पाए पनि कारोबार गरेको रकम कम्पनी रजिस्ट्रार कार्यालयलाई जानकारी गराउनुपर्ने छ । ‘उक्त आधारमा सरकारले राजस्व लिने हो,’ उनले भने ।
टेलियासोनेराले विज्ञप्तिमार्फत जनाएअनुसार एनसेल १ खर्ब ४० अर्ब रुपैयाँमा बिक्रीको समझदारी जुटिसकेको छ । हालका तीन वटा सेयर होल्डरले नयाँ दुई लगानीकर्तालाई उक्त रकममा कम्पनी बिक्री गर्ने भएका हुन् । एक्सिएटालाई १ अर्ब ३ करोड अमेरिकी डलर (१ खर्ब ३ करोड रुपैयाँ) मा बिक्री गर्न सहमत भएको हो । निरज गोविन्दले ४ करोड ८० लाख अमेरिकी डलर (४ अर्ब ८० करोड) मा बिक्री गर्ने समझदारी भएको थियो । उक्त रकमअन्तर्गतको प्रक्रिया भने अघि बढाइएको हो ।
तर खरिद/बिक्रीको कारोबार भने सन् २०१६ को पहिलो ६ महिना सम्ममा समापन गर्ने विज्ञप्तिमा जनाइएको छ । घोषणा गरेको अवधि भने बाँकी नै रहेकाले ८० प्रतिशतको कारोबार अबको दिनमा हुने अनुमान गरिएको छ । एनसेल नेपालमा ०५८ असार ४ गते दर्ता भएको दूरसञ्चार कम्पनी हो । मोदी कर्प, खेतान ग्रुप र स्पाइस नेपालले यो कम्पनी दर्ता गरेका हुन् । त्यसपछि विभिन्न समयमा विभिन्न लगानीकर्ताहरूबीच यसको सेयर खरिद बिक्री हुँदै आएको छ । हाल एनसेलका प्रयोगकर्ता १ करोडभन्दा बढी छन् । यो कम्पनीले सुरुमा ‘मेरो मोबाइल’ ब्रान्डबाट सेवा दिएको थियो ।