काठमाडौँ, ९ पुस ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई पार्टीको काम भन्दा पर्यटन प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनद्धारा आज आयोजित नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई स्वागत तथा बधाई कार्यक्रममा उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा निःस्वार्थ भावले लाग्न आग्रह गर्नुभएको हो ।
आफूले विदेशी मित्र राष्ट्रलाई ऋण र अनुदान नभई १५ दिन नेपाल बस्ने गरी पर्यटक पठाइदिन निरन्तर आग्रह गरिरहेको जानकारी गराउनुभयो । मन्त्री पोखरेलले नेपालको आर्थिक र सामाजिक रुपान्तरणका लागि पर्यटन क्षेत्र महत्वपूर्ण भएको भन्दै यसबाट नेपालीको प्रतिव्यक्ति आम्दानीसमेत बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन बोर्डमा सिइओ नियुक्तिले आम पर्यटन क्षेत्रमा खुसी छाएकाले अब आगामी दिनमा अलमल नगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।