काठमाण्डौ ,८ पुस । ग्यास विक्रेता महासंघले ग्यास उद्योग तथा डिलरहरुमा नै आक्रमण हुन थालेपछि व्यावसायीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ । राजधानीको मिडिया ईन्टरनेशलमा बुधवार पत्रकार सम्मेलन गर्दै महासंघले देशका बिभिन्न स्थानमा ग्यास व्यावसायी र बिक्रेतामाथि जीउदै जलाउने र आक्रमण गर्ने कार्यमा संलग्नलाई कडा कार्वाही गर्न पनि माग गरेको छ ।
कार्यक्रमा बोल्दै महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायी माथि आक्रमण हुनुका साथै साना ग्यास व्यावसायीलाई कालोबजारी गरेको आरोपमा पक्राउ गरी दुख दिने गरेको भन्दै यस्तो कार्य बन्द गर्न माग गर्नु भयो । उद्योगमाथि आक्रमण भएपछि विक्रेताहरु पनि त्रसित बनेको भन्दै उहाले व्यावसायीको सुरक्षाको ग्यारेन्टि नगरे व्यावसाय नै छोड्ने चेतावनी दिनुभयो । आक्रमण र त्रासका बीच विक्रेताहरुले ग्यास बेच्न नसक्ने उहॉको भनाई थियो । सरकारले आपूर्ती सहज बनाउन पहल गर्नुका साथै सहज रुपमा ग्यास बिक्रि वितरणको व्यावस्था गर्नुपर्नेमा जोड दिदै अध्यक्ष अर्यालले यदि त्यसो नभए व्यावसायीको लगानी क्षतिपुर्ती सहित फिर्ता गर्नु पर्ने बताउनु भयो ।
अहिले गयसमा भईरहेको कालोबजारीतर्फ ईंगित गर्दै अध्यक्ष अर्यालले भन्नुभयो ,अहिलेको संकटलाई अवसरको रुपमा लिएर बढी रकममा ग्यास बेच्नेहरु पनि छन् त त्यस्ता व्यावसायीलाई कानुन अनुसार कार्वाही गर्नुपर्छ । ठुलाईलाई आर्थिक प्रलोभनमा पारेर अहिले साना व्यावसायीलाई कालोवजारीका नाममा पक्राउ गरी दुख दिने गरेको भन्दै उहाले त्यस्तो कार्य बन्द गरी सरकारी पक्षबाटै कालोबजारी अन्त्य गर्न कदम चाल्न जरुरी भएको बताउनु भयो ।
कार्यक्रममा महासघंका महासचिव चन्द्र बहादुर थापाले नाकाबन्दीका कारण अहिले ग्यास कम आउदा वितरणमा समस्या भईरहेका बेला विक्रेताहरुमाथि नै आक्रमण हुनु निन्दनीय कार्य भएको बताउनु भयो ।
उहॉले उद्योग र व्यावसायीमाथिको आक्रमण बन्द गरि त्यसमा संलग्नलाई कार्वाहि नगरे आफुहरुले ग्यास बेच्न नसक्ने बताउनु भयो ।
सबै उपभोत्तालाई एकै पटक वितरण गर्न नसकिने स्पष्ट पार्दै उहाले स्थानीयस्तरबाट ग्यास वितरणमा सहयोग गर्न पनि आगह गर्नु भयो ।