माछापालन व्यवसायतर्फ किसान आकर्षित

माछापालन व्यवसायतर्फ किसान आकर्षित

  • मङ्लबार, पुस ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

पोखरा, ७ पुस ।

कास्कीमा माछापालन व्यवसायतर्फ किसानको आकर्षण बढेको छ ।

भौगोलिक अवस्थितिका कारण तालतलैया रहेका कारण माछापालनका पर्याप्त सम्भावना रहेको र लगानीअनुसार राम्रो उत्पादन हुने भएको भन्दै कृषक माछापालनतर्फ आकर्षित बनेका हुन् ।

स्थानीयरुपमा पनि माछाको अत्यधिक माग हुने भएका कारण पनि माछापालनमा कृषकको रुचि बढेको कालिका गाविस– ८ मादीबेंसीका किसान डम्बर नेपाली बताउनुहुन्छ । विगत सात वर्षयता आफू माछापालनतर्फ लागेको बताउँदै उहाँले भन्नुभयो, “सुरुमा त कच्ची पोखरीमा माछापालन सुरु गरेको थिएँ, चार वर्षयता भने लगभग दुई रोपनी क्षेत्रफलमा पक्की पोखरी निर्माण गरी व्यवसाय सञ्चालन गरेको छु ।”

जिल्लामा माछापालनका पर्याप्त सम्भावना भएको बताउँदै उहाँले यसलाई थप व्यवस्थित गराउन सरकारी तवरबाट पहल एवम् सहयोग हुनुपर्ने धारणा राख्नुभयो । पोखरी व्यवस्थित गरेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । गत वर्ष माछापालनबाट उहाँले रु एक लाख ८१ हजार आम्दानी गर्नुभएको थियो ।

नेपाली जस्तै थुमाको डाँडा गाविस–८ भक्याम्लेका भोजराज सापकोटा पनि जिल्लामा माछापालनको धेरै सम्भावना भएको बताउँदै यसतर्फ युवालाई आकर्षित गरे रोजगारीको खोजीमा विदेशिने क्रम रोक्न सकिने बताउनुहुन्छ । उत्पादित माछा पोखरीबाटै प्रतिकिलो रु ५०० सम्ममा बिक्री हुने गरेको छ । तीन वर्षयता माछापालनमा लागेका सापकोटाले हाल पाँच रोपनी क्षेत्रफलमा कमन, ग्रास, रघु, नैनी जातका माछापालन गर्दै आउनुभएको छ ।

व्यक्तिगत रुपमा मात्र होइन सामूहिक रुपमा पनि जिल्लामा माछापालनतर्फ किसान लागेका छन् । रोजगारीका सिलसिलामा विदेश गएर फर्केका लाहाचोकका १२ जना युवा लस्ती खोला कृषक समूहमा आबद्ध भई २०६७ सालदेखि माछापालनमा लागेका छन् । “हाल १५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन गरिरहेका छौँ” समूहमा आबद्ध मत्स्यपालक व्यवसायी गिरीधारी भण्डारीले भन्नुभयो ।

उनीहरूले हाल एघार वटा पोखरीमा माछापालन गर्दै आएका छन् । समूहले उत्पादन गरेका माछा लाहाचोक, घाचोक, रिभान, पुरनचौर, हेम्जालगायत स्थानमा खपत हुने गरेका कारण बिक्रीका लागि पोखरा ल्याउनु परेको छैन । कास्कीकोट गाविस–३ का भीमप्रसाद सुवेदी खट्न सकेमा जिल्लामा माछा उत्पादनका पर्याप्त सम्भावना रहेको बताउनुहुन्छ । जिल्ला कृषि विकास कार्यालयले पनि यहाँको माछापालनको सम्भावनालाई उजागर गर्नुपर्ने माझथुम कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका सुवेदीको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइरालाले जिल्लामा मागको ५० प्रतिशत माछा उत्पादन हुने गरेको बताउनुभयो । जिल्लामा माछा उत्पादन वार्षिक करिब ३२३ मेट्रिक टन हुने गरेको छ । जिल्लाको ३६.३ हेक्टरमा पोखरी बनाएर १०५ टन, पोखरा र आसपासका क्षेत्रका विभिन्न तालमा केज बनाएर करिब ११३ टन तथा धानखेतमा ७०० किलो माछा उत्पादन हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी