काठमाडौं, ६ पुस ।
गृहमन्त्रालयले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दुर्व्यवहार भएको घटना छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
समितिमा सहसचिव केसीसहित, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्तबहादुर पाल र सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल रहनु भएको छ ।
समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन पनि भनिएको छ । राष्ट्रपति भण्डारी विवाह पञ्चमी महोत्सवमा पूजा अर्चना गर्न जनकपुर गएकाबेला आन्दोलनकारीले कारकेडमा पेट्रोल बम र ढुंगामुढा प्रहार गरेका थिए ।
एकल महिला मन्दिर भित्र प्रवेश गर्दा मन्दिर ‘अशुद्ध’ भएको भन्दै चोख्याउने वहानामा स्थानीय आन्दोलनकारीले गंगाजल छर्किएका थिए ।
यसैबिच ,राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणमा लिएर जानकी मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डललाई सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले जानकारी दिनुभयो ।