काठमाडौ ४ पौष ।
विभिन्न प्रलोभन देखाएर भारततर्फ बेचबिखनका लागि लादै गरेको अवस्थामा प्रहरीले चार बालकको उद्धार गरेको छ । मोरङको टङ्कीसिनुवारी १ शान्तिचोकबाट भारतमा बेच्नका लागि लग्दै गरेको अवस्थामा हिजो बेलुकी मोरङ प्रहरीले उद्धार गरेको हो ।
सुनसरीको बराह क्षेत्रबाट एक अपरिचित व्यक्तिले भारतमा काम लगाइदिन्छु भन्दै सुनसरी महेन्द्रनगर–६ का ११ वर्षीय किरन माझी, सोही ठाउँका १० वर्षीय राहुल माझी, उदयपुर ठोक्सीला १ का १२ वर्षीय विक्रम माझी र सोही ठाउँका १० वर्षीय झनक माझीलाई भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।
प्रहरीले उद्धार गरेका चार बालकलाई विराटनगरस्थित बाल हेल्पलाइनमा राखिएको र उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खरेलले बताउनु भयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।