काठमाडौँ, ३ पुस ।
नेपाल विद्युत् प्राधिकरणले आजबाट विद्युत्भार कटौतीको समय बढाएको छ ।
नदीमा पानीको प्रवाह घटेका कारण विद्युत् उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले आजदेखि लागू हुने गरी सातामा ७० घन्टाको दरले विद्युत्भार कटौती गरेको हो ।
नयाँ तालिका अनुसार अब दैनिक १० घन्टा विद्युत्भार कटौती हुनेछ । यसअघि प्राधिकरणले साढे आठ घन्टा आधिकारिक रुपमा विद्युत् कटौती गर्दै आएको भए पनि ट्रान्सफर्मर र कन्डक्टर जल्दा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा असीमित कटौती हुँदै आएको छ ।
अब सातामा एक दिन बिहान र साँझमा भने खाना पकाउने समयमा विद्युत् उपलब्ध हुने छैन । अन्य दिनमा भने सकेसम्म उपलब्ध गराउने प्रयास गरिएको प्राधिकरणले जनाएको छ ।
ट्रान्सफर्मरमा अत्यधिक समस्या देखिँदा प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्र लैनचौरमा मर्मतसम्भार गर्न भ्याइनभ्याइ भएको छ ।
बढी भार परेर जलेका ट्रान्सफर्मर, कन्डक्टर तथा फ्युज मर्मतको प्रयास जारी रहेको र राजधानीका सबै वितरण केन्द्रले मर्मत तथा क्षमता अभिवृद्धि गरिरहेका कारण केही दिनमा नै समस्या समाधान हुने र तोकिएको समयमा विद्युत् उपलब्ध गराउन कुनै समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको भनाइ छ ।
प्राधिकरणसँग मौज्दात रहेको ट्रान्सफर्मर तथा कन्डक्टर प्रयोग गरेर भए पनि विद्युत् उपलब्ध गराउने प्रयासमा लागिरहेको उहाँले बताउनुभयो ।
नेपालमा हाल ४३ जलविद्युत् आयोजनाबाट ७१८ मेगावाट उत्पादन हुँदै आए पनि सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण विद्युत् उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको छ ।