जलेश्वरमा अत्यधिक चिसोका कारण एक जनाको मृत्यु

जलेश्वरमा अत्यधिक चिसोका कारण एक जनाको मृत्यु

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

महोतरी २८ मङ्सिर । अत्यधिक चिसोका कारण महोत्तरी सदरमुकाम जलेश्वरमा आज एक जनाको मृत्यु भएको छ ।

चिसोका कारण जलेश्वर नगरपालिका–३ बस्ने ६० वर्षीय सतन यादवको मृत्यु भएको परिवारजनले जनाएको छ । गएराति अबेरसम्म छिमेकीको भोजमा सामेल भएका यादवको शीतलहरले गर्दा मृत्यु भएको छोरा राजकिशोर यादवले बताउनुभयो ।

यसैबीच दुई दिनदेखिको शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तरार्ईका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

शीतलहरका कारण अत्यधिक चिसो बढ्नुका साथै घाम फिटिक्कै नलाग्नाले यस क्षेत्रका तराईका जिल्लामा दिनभरि शीतलहर तथा साँझ पर्ने्बित्तिकै कुहिरो लाग्न क्रम सुरु भएको छ ।

पश्चिम क्षेत्रको मुख्य तराईका सहरहरु नेपालगन्ज, बर्दिया, धनगढी, टीकापुर, कोहलपुरमा लगातार दुई दिनदेखि घाम लागेको छैन । चिसोसँगै बहने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार जाडोबाट अधिक प्रभावित भएको पाइएको छ ।

तराईका जिल्लामा घाम नलागेपछि खेतमा लगाइएको तोरी, गहँु, मसुरो, चना, अरहर तथा हिउँदे तरकारी बालीमा प्रतिकूल प्रभाव परेको जिल्ला कृषि विकास कार्यालयका अधिकृत सकिल अहमदले बताउनुभयो ।

शीतलहरका कारण आलु र गोलभेँडाका बोटमा ‘डढुवा’ नामको रोग लाग्ने सम्भावनासमेत बढेकाले व्यावसायिक तरकारीखेतीमा संलग्न कृषक चिन्तित देखिएका छन् ।

यसैगरी, अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरबाट बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफायड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ भने स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।

चिसो अत्यधिक बढेपछि स्थानीयवासी आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेका दाउरा बालेर दिनभरि तापेर बसेको देख्न सकिन्छ ।
पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको हो ।

तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत प्रभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । भिजिविलिटी नपुगेपछि नेपालगन्जबाट काठमाडौँलगायतका स्थानको उडान रद्द हुने वा ढिलो हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ