भक्तपुर, मंसिर २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेश आन्दोलनको समस्या भारतमा होइन नेपाल मै खोज्नु पर्ने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले मधेशमा जारी आन्दोलनको समस्या सम्बोधन नेपालीले नै गर्ने भएकाले समस्याको निकास माग्न मधशेबादी नेता भारत जानु गलत भएको बताउनु भएको हो ।
लामो समयसम्म सरकारले मधेश आन्दोलनलाई कतैबाट सम्बोधन गर्न नसक्दा अब मधेश आन्दोलन समेत मधेशकै नेतृत्वबाट बाहिर जान सक्ने खतरा रहेको समते राणाको टिप्पणी छ ।
भारतले अघोषित घोषित जे भने पनि नाकाबन्दी लगाएर गलत काम गरेको भन्दै राणाले भन्नु भयो भारतीय बिदेश मन्त्रीले नेपालका मामलामा कुटनीतिक मर्यादा भन्दा बाहिर गएर टिप्पणी गरेको देखिन्छ । त्यस्तै नाकाबन्दी खुलाउन गएका परराष्ट्रमन्त्री र नेपाल सरकारमा नाकाबन्दी खुल्ने आशा भएता पनि त्यो भारतका बिदेश मन्त्रीको इश्वरमै भर पर्ने राणाले बताउनु भयो ।
मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्न काँग्रेसले अघि सारेको संशोधनलाई आधार बनाएर जायज मागको सम्बोधन गर्न सकिने भएता पनि निकास दिन सरकार अघि नसरेको भन्दै राणाले आक्रोश पोख्नु भयो ।
राणाले जताततै कालोबजारी बढेको र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको भन्दै सरकारले नै कालोबजारीलाई संरक्षण गरेको आरोप लगाउनु भयो ।
भुकम्प पश्चात जसरी पूननिर्माणमा सरकार लाग्नु पर्ने हो प्राधिकरणमा कसलाई सिओ नियुक्ति गर्ने भन्ने मै दलहरु बीच कुरा नमिल्दा प्राधिकरणले पूर्णता पाउन नसकेको भन्दै सरकारले पूननिर्माणको कामलाई तत्काल लागू गरेर भुकम्प पिडितलाई राहत दिनु पर्ने उहाँले बताउनु भयो ।
नेपाल सरकारले उत्तर तर्फका नाका खुलाउनेमा मात्र ध्यान दिनु भन्दा पनि तातोपानी सडक खण्डलाई न्यूनतम चार लेन सडकको रुपमा बिस्तार गर्नु पर्ने र अन्य नाकालाई ब्यवस्थित गर्न सकिए नेपालको समेत आर्थिक बिकासमा सहयोग पूग्ने उहाँको भनाइ छ ।
राणाले नेपालमा मानव संकटको अवस्था देखा परेको भन्दै यसको अन्त्य पनि भारतले गरेको नाकाबन्दी खुल्न साथ सकिने बताउनु भयो ।