सुत्केरीको वास दिउँसो त्रिपालमा, राति छाप्रोमा

सुत्केरीको वास दिउँसो त्रिपालमा, राति छाप्रोमा

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बनेपा, २४ मङ्सिर ।

भूकम्पका कारण आफ्नो वासस्थानबाट विस्थापित भएका सुत्केरी महिला चिसोबाट बच्न परम्परागत छाप्रोमा बस्न थालेका छन् ।

मङ्सिरको पहिलो साता सुत्केरी भएकी पोखरीचौरी गाविस वडा नं ६ की कमला गौतम खर, पराल, छ्वाली, रुखका हाँगाबिँगा र स्याउलाले बारेर निर्माण गरेको परम्परागत छाप्रोमा बस्न थाल्नुभएको हो ।

दिउँसो घाम हुँदा त्रिपालभित्रै बसेका छौँ तर राति सुत्नका लागि त्यही छाप्रोमा बसेका छौँ, उहाँले भन्नुभयो ।

सुत्केरी हुनुअघिको अवस्था पनि कष्टकर भएको उल्लेख गर्दै उहाँले बच्चालाई पनि चिसोको समस्याका कारण औषधि गरेको बताउनुभयो ।

अहिले सबैभन्दा बढी समस्या वृद्धवृद्धा र बालबालिकालाई भएको जानकारी दिँदै गौतमले भूकम्पपीडितका लागि राहत आए पनि प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।

ठाउँ नभएकाले भैँसी राखेको कटेरो नजिकै सुत्केरी अवस्थाकी गौतम चिसोबाट बच्न सो छाप्रोमा बस्नुभएको छ ।

भूकम्पका कारण छ महिनादेखि आफ्नो वासस्थानबाट विस्थापित भएका पोखरीचौरी वडा नं ६ र ७ का ५५ घरपरिवार बासिन्दा स्थानीय चौतारोडाँडामा बसेका छन् । सरकारले बस्ती नै सारेपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको हो ।

भूकम्पपीडित आवास व्यवस्थापन समिति, पोखरीचौरीका अध्यक्ष उद्धव गौतमले सरकारले प्रदान गरेको त्रिपाल चिसोको समयमा उपयोग नभएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धा चिसोका कारण त्रिपालमा नसुतेको बताउनुभयो ।

चिसोका कारण बालबालिका र वृद्धवृद्धा निमोनिया र दम रोगबाट ग्रसित हुन थालेका छन्, उहाँले भन्नुभयो ।

अध्यक्ष गौतमले दैवी प्रकोप तथा उद्धार समितिले विस्थापित भएर गएको ठाउँमा बसेका कारण लाग्ने भाडा रु १०० भूकम्पपीडितले नै आफँै तिर्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै वृद्धवृद्धालाई ओढ्ने सिरक नभएर राति पनि आगो बालेर त्यसको छेउमा सुत्ने गरेको बताउनुभयो ।

उहाँले आफ्नो वासस्थान सरेपछि बस्तुभाउ पनि सँगै ल्याउँदा चिसोका कारण बिरामी पर्न थालेको उल्लेख गर्दै औषधि खुवाउँदा खुवाउँदा हैरान हुन थालेका छौँ भन्नुभयो ।

हामीलाई अहिले ओढ्ने र ओछ्याउनेकै समस्या छ, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी