काठमाडौं, २४ मंसिर ।
ताप्लेजुङलाई केन्द्र बनाएर पूर्वी पहाडी जिल्लामा सशस्त्र भूमिगत गतिविधि गर्दै आएको देउमान लिम्बु समुहले बालबालीकालाई पनि जबरजस्ति आफ्नो समुहमा प्रयोग गर्ने गरेको खुलासा भएको छ ।
सो समुहमा आबद्ध एक बालकले आत्मसमर्पण गरेको र पक्राउ परेकी दुर्गा लिम्बु पनि बालीका रहेको पुष्ठि भएसँगै सो समुहले बालबालीकालाई प्रयोग गर्ने गरेको खुलासा भएको हो ।
केहि दिन अघि प्रहरी समक्ष सो समुह परित्याग गरी आत्मसमर्पण गर्ने सान्थाक्रा गाविस घर भई इलाम चुलाचुली बस्दै आएका वीरेन लिम्बू १३ बर्षका र धरानबाट पक्राउ परेकी हाङदेवा गाविसकी दुर्गा लिम्बू पनि १६ बर्षभन्दा कम उमेरकी रहेको स्वास्थ्य परीक्षणबाट खुलेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
दुर्गा नाबालिका रहेकोले उनको संरक्षण आफुले गर्न पाउनु पर्ने भन्दै उनका आफन्तले गरेको अपिलमाथि सुनुवाई गर्दै जिल्ला अदालतले उनको उमेर परीक्षण गरी प्रतिबेदन पेश गर्न ताप्लेजुङ प्रहरीका नाममा आदेश दिएको थियो । दुर्गालाई सो समुहबाट भागेर धरान स्थित दिदीको घरमा बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो भने वीरेनले सशस्त्र समूहबाट भागेर प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
देउमान लिम्बु (हाराहाङ) लाई एक दर्जन भन्दा बढी अपराधिक घटनाका फरार अभियुक्त भएको बताउने प्रहरीले ‘मोष्ट वान्टेड’ सुचिमा राखेर खोजी कार्य जारी राखेको छ ।