काठमाण्डौ,२३ मंसिर।
खोटाङ जिल्लामा महिला नेतृत्वको उपभोक्ता समितिले जिविससँग योजना सम्झौता गरेको छ । लामीडाँडाका महिलाले तिर्पा खानेपानी योजना सञ्चालनका लागि जिविससँग सम्झौता गरेको हो ।
जिविसको रु नौ लाख २५ हजार र श्रमदान रु दुई लाख ३० हजार बरारबरको गरी रु ११ लाख ५५ हजारको लागतमा खानेपानी योजना सञ्चालनको जिम्मा गङ्गादेवी खतिवडा अध्यक्ष रहेको ११ सदस्यीय समितिले लिएको छ । महिलाको मात्र सहभागिता रहेको सो उपभोक्ता समितिले जिविसका प्रशासकीय अधिकृत नरहरि सापकोटासँग सम्झौता गरेको हो ।
बजेट ‘फ्रिज’ भएर जाने समस्या न्यूनीकरणका लागि जिविसले दसदिने ‘योजना सम्झौता अभियान’ थालेको दोस्रो दिन सो समूहले योजना सम्झौता गरेको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । उक्त खानेपानी योजनाले लामीडाँडा–१ र २ मा पर्ने तिर्पाका दुई सय घर परिवार लाभान्वित हुने बताइएको छ ।