भूकम्पप्रभावितलाई चिसोबाट जोगाउन स्वास्थ्य शिविर

भूकम्पप्रभावितलाई चिसोबाट जोगाउन स्वास्थ्य शिविर

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, २३ मङसिर ।

अस्थायी टहरामा दैनिक गुजारा चलाई रहेका भूकम्प पीडितलाई चिसोबाट हुने रोगबाट बचाउन बीपी चिन्तन प्रतिष्ठानले पुनः भूकम्पप्रभावित जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नेपाल मेडिकल एशोसिएसन, हेल्थ नेट इनिसिएटिभको आर्थिक एवम् प्राविधिक सहयोगमा प्रतिष्ठानले आगामी पुस ३ र ४ गते धादिङको आगिञ्चोक गाउँविकास समितिबाट दोस्रो चरणको स्वास्थ्य शिविर सुरु गर्ने जनाएको छ ।

प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् शिविर व्यवस्थापनका संयोजक ध्रुव पाण्डेले राससलाई दिनुभएको जानकारीअनुसार शिविरमा विशेषगरी महिला तथा बालबालिकाका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गर्नेछन् । साथै स्थलगतरुपमा दिसा, पिसाव, रगत, खकार आदिको प्रयोगशाला परीक्षण (ल्याब टेष्ट)समेत हुने उहाँले बताउनुभयो ।

साथै, छाला, छाती, जोर्नी, फोक्सो तथा चिसोबाट लाग्ने दम, रुघाखोकि, निमोनिया, ब्रोङकाइटिस्, भाइरस इन्फ्लुञ्जालगायतको पनि परीक्षण गरिने छ ।

प्रा डा करवीरनाथ योगी, प्रा डा चोपलाल भुसाल, प्रा डा मीरा उपाध्याय, डा निरज बम, डा राजाराम कार्की, डा अमित कार्की, डा मुक्तिराम श्रेष्ठ, डा प्रकाश वुढाथोकी, डा केदारनरसिंह केसीलगायतका चिकित्सकले सो शिविरमा निःशुल्क सेवा प्रदान गर्नुहुने संयोजक पाण्डेले जानकारी दिनुभयो । प्रतिष्ठानले गत वैशाख महिनामा गएको भूकम्पपछि घर आगनमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

धादिङपछि गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखालगायत भूकम्पबाट अति प्रभावित १४ जिल्लामा शिविर आयोजना गर्ने लक्ष्य प्रतिष्ठानले लिएको छ । स्वास्थ्य शिविरलाई देउराली जनता फर्मास्युटिकल्स, एशियन फर्मास्युटिकल्स, मार्क फर्मुलेशन प्रालि, नेपाल फर्मास्युटिकल ल्याब, नेशनल हेल्थ केयर प्रालि, सुमि फर्मास्युटिकल्स प्रालि, आरए फर्मास्युटिकल्सलगायतका औषधि उत्पादन गर्ने उद्योगले औषधि निःशुल्करुपमा प्रदान गर्नेछन् ।

प्रतिष्ठानले गत वर्ष मात्र मेची महाकाली स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । विपन्न जनतालाई उनीहरुको घर आगनमा नै पुगी विशेषज्ञ चिकित्सक सेवा, प्रयोगशाला तथा निःशुल्क औषधि वितरण गर्ने पवित्र ध्येयले शिविर सञ्चालन गर्दै आएको संयोजक पाण्डेले बताउनुभयो । एक स्थानको स्वास्थ्य शिविरमा करिव एक हजारदेखि एक हजार पाँच सयसम्मको स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ