लाइन बस्नेले नै गर्छन् ईन्धनको कालोबजारी

लाइन बस्नेले नै गर्छन् ईन्धनको कालोबजारी

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,२१ मङ्सिर ।

पेट्रोलियम पदार्थको अभावको मौका उठाई पेट्रोल पम्पको लाइनमा बसेका सवारी चालकले नै पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गरेको तथ्य फेला परेको छ ।

वितरण प्रणालीलाई व्यवस्थापन गर्न सरकारले लाइनमा राखेर पेट्रोलियम पदार्थ वितरण गर्दै आएको भए पनि कतिपयले पटकपटक लाइनमा बसेर तेल हाल्ने र त्यसैलाई बेचेर पैसा कमाउने गरेको अनुगमनका क्रममा फेला परेको हो ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनका क्रममा कतिपय गाडीले एउटा पम्पमा डिजेल भर्ने, फेरि अर्काे पम्पमा जाने, फेरि फर्केर आउने गरेको देखिएको छ । त्यस्ता गाडी बाहिर नजाने पेट्रोल पम्ममै दिन बिताएर तेल जम्मा गर्ने र त्यही तेलको कालोबजारी गर्ने गरेको धेरै स्थानमा देखिएको विभागका निर्देशक हरिनारायण बेल्वासेले बताउनुभयो ।

“जति मात्रामा गाडीलाई तेल वितरण गरिएको छ, त्यति मात्रामा बजारमा गाडी देखिदँैनन् । माइक्रो, यहाँका लोकल बस र केही लामो दुरिका बसले पनि तेलमा दुई नम्बरी गरेको अवस्था पटकपटक देखियो” उहाँले व्यवस्थापिका–संसदको उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिको बैठकमा भन्नुभयो ।

इन्धन वितरणमा यस्ता समस्या देखिएपछि विभागले इन्धन वितरण अवधिभर टोली बनाई सबै पम्पमा अनुगमन गरी त्यस्ता कार्यलाई नियन्त्रण गर्ने प्रयास गरेको बेल्वासेको भनाइ छ । विभागले समस्याका बारेमा यातायात क्षेत्रका व्यक्तिलाई अवगत गराएको र गाडीको सङ्ख्या धेरै भएकाले सबैको रेकर्ड राख्न अफ्ठ्यारो भएको जनाएको छ ।

निर्देशक बेल्वासेले आफूले यातायात व्यवसायीसँग डिजेल दिएको अनुपातमा गाडी नचलाए किन तेल दिने भनी प्रश्न गर्दा कतिपय यातायात व्यवसायका पदाधिकारीसँग हात हालाहालको स्थिति भएको समेत गुनासो गर्नुभयो । अनुगमनका क्रममा भोग्नुपरेका चुनौती र अफ्ठ्याराका बारेमा गुनासो गर्दै निर्देशक बेल्वासेले भन्नुभयो, “पम्पमा एक जनाले ‘म केपी ओलीको मान्छ हुँ त के गर्न सक्छस् मलाई, एक सय लिटर तेल हाल्ने भए हाल नत्र भने तेरो जागिर खाइदिन्छु’ ।”

निर्देशक बेल्वासेको गुनासोपछि समितिका सभापति भीष्मराज आङ्देम्बेले त्यसरी इन्धन भर्ने वा जोकसुकै व्यक्तिको नाम लिएर धम्क्याउनेसँग नडराउन निर्देशन दिनुभयो । त्यस्ता व्यक्तिको रेकर्ड राखी सार्वजनिक गर्न निर्देशन दिँदै उहाँले त्यसमा समितिको पूर्ण साथ र सहयोग रहने आश्वासन दिनुभयो ।

सभापति आङ्देम्बेले चीनसँग इन्धन आपूर्तिका लागि भएका प्रयासलाई गम्भीरता पूर्वक लिएर कर छुटलगायतका विषय कूटनीति माध्यमबाट हल गर्न र कोदारीलगायतका सबै नाका खोल्नका लागि पहल गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।

सभापति आङ्देम्बेले मौज्दात इन्धनको वितरणलाई न्यायोचित बनाउन नेपाल आयल निगमलाई निर्देशन दिँदै भन्नुभयो, “भोलि तय भएको निजी क्षेत्रका सवारी साधनलाई इन्धन वितरण गर्ने कार्यलाई सहज बनाउनुस् र लाइनमा बसेका कसैले पनि फिर्ता हुन नपरोस् ।” उहाँले खाने तेललगायत उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिका बारेमा वाणिज्य तथा आपूर्ति विभागलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नभयो ।

बैठकमा मन्त्रालयका सहसचिव शम्भु घिमिरेले आपूर्ति हुने १० प्रतिशत इन्धनले शतप्रतिशत मागको सम्बोधन गर्नुपर्दा वर्तमान समस्या देखिएको बताउँदै इन्धन आपूर्तिका लागि मन्त्रालयले चीन सरकारसँग गरेको प्रयासको बारेमा समितिलाई अवगत गराउनुभयो ।

चीनका साथै सरकारले बङ्लादेशसँग इन्धन आपूर्तिका लागि काम अघि बढाएको उहाँले जानकारी गराउनुभयो । वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक शम्भु कोइरालाले खाने तेल व्यवसायीले इन्धन र ढुवानीको समस्या, री रुट गर्दा ढुवानी खर्च बढेको, तोरीको मूल्य बढेकोलगायतका तर्क गर्दै खाने तेलको मूल्य बढाउन खोज्दा त्यसमा नियन्त्रण गरेको बताउनुभयो ।

उहाँले केही खाने तेल व्यवसायीले अभावको मौका उठाई मूल्य वृद्धी गर्न खोज्दा गोदाममा सिलबन्दी गरी कारबाहीका लागि प्रक्रियाअघि बढेको जानकारी गराउनुभयो । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले मुलुकका विभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थल्याई कालोबजारी गर्ने गिरोहका कार्यलाई पनि निगमसँग जोडेर बदनाम गरिएको भन्दै दुखेसो पोख्नुभयो ।

मुलुकमा पेट्रोलियम पदार्थ आयात गर्न निजी क्षेत्रले स्वीकृत लिए पनि हालसम्म कसैले पनि स्थलमार्गबाट ल्याउन नसकेको र पेट्रोम्याक्सले हवाईमार्गबाट इन्धन ल्याउन सुरु गरेको जानकारी गराउनुभयो ।

चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बारेमा अध्ययन गर्न चीन गएको प्राविधिक टोलीले त्यहाँबाट ल्याइने पेट्रोलियम पदार्थ हालको भन्दा महँगो पर्ने बताएको छ । चीनमा कर छुटको सुविधा नपाए उपभोक्तासम्म पुग्दा पेट्रोल प्रतिलिटर रु १८० र डिजेल प्रतिलिटर रु १५० पर्ने टोलीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी