काठमाण्डौ, २० मंसिर ।
उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले केही दिनअघि माथिल्लो सदन राज्यसभामा नेपालबारे दिएको अभिव्यक्ति भ्रमपूर्ण र हस्तक्षेपयुक्त रहेको बताउनुभएको छ ।
व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा थापाले भारतको संसदमा विदेशमन्त्री स्वराजले दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रतामा हस्तक्षेप गर्ने खालको रहेको बताउनुभयो ।
गलत सूचनाका आधारमा स्वराजले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने परराष्ट्रमन्त्री थापाको भनाई छ । भारतीय विदेशमन्त्री स्वराजले केही दिन अघि राज्य सभामा भारतको नेपाल बारेको १४ बुँदे धारणा प्रस्तुत गर्नुभएको थियो । विदेशमन्त्री स्वराजले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधन कार्यमा ढिलाइ गरेको आरोप पनि लगाउनुभएको थियो ।
थापाले नेपाल–भारत सम्बन्ध पछिल्लो समय बिग्रिएको बताउनुभयो । यद्धपी परराष्ट्र मन्त्री थापाले आफ्नो पछिल्लो भारत भ्रमण नाकाबन्दी खुलाउनका लागि सकारात्मक भएको बताउनुभयो । केही समयभित्र मै परीस्थिती सहज बन्दै जाने उहाँले दाबी गर्नु भयो ।
सीमानाकामा भएको असुरक्षाका कारण नेपालमा गाडी पठाउन नसकिएको भन्ने भारतको दाबी निराधार रहेको परराष्ट्रमन्त्री थापाले बताउनुभयो । यस्तै उहाँले चीनबाट इन्धन ल्याउनका लागि कुटनीतिक पहल भइरहेको पनि बताउनुभयो ।