काठमाण्डौ,१९ मंसिर ।
प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको छ । जारी वार्तामा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्ष कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी छन ।
वार्ताका लागि बेलुका सात बजेको समय तय भए पनि राजधानीमा आयोजित निकासका लागि वहस कार्यक्रममा सहभागी मोर्चा र तीन दलका नेताहरु बालुवाटार पुग्न ढिलो भएपछि बैठक पौने आठ बजेमात्र सुरु भएको हो।
तीन दलको आजको बैठकले मधेसी मोर्चासँग वार्ताका लागि पारित गरेको तीन बुँदे साझा प्रस्तावको बारेमा मोर्चाको धारणा बुझ्न र त्यहीअनुसार निर्णायक वार्ताको तयारी गर्न तीन दलले मधेसी मोर्चालाई वार्तामा बोलाएका हुन ।
वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत तीन दलका वरिष्ठ नेताहरु सहभागी हुनुहुन्छ । यस्तै मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव र लक्ष्मर्णलाल कर्ण सहभागी हुनु भएको छ ।