काठमाडौ १८ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधनका लागि मोर्चा आवद्ध दलका शिर्ष नेताहरुसँग आज छुट्टा छुट्टै छलफल गर्दै हुनुहुन्छ ।
तराईमा दुई प्रदेशको सिमांकनलाई बटमलाइन बनाएको मोर्र्चाको धारणा बुझ्न प्रधानमन्त्री ओलीले उनीहरुसँग भेट गर्न लाग्नु भएको हो । यद्यपी भेटको समय भने तय भइनसकेको बताइएको छ । ओलीले तराई मधेश लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर र संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सँग भट गर्ने तयारी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले तीन दलबीच भएको साझा धारणा र तराई मधेशका मागका विषयमा भारतको सुझाव बारे मोर्चाको धारणा बुझ्न ठाकुर र यादवसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिमांकनको मुद्धा राजनितिक संयन्त्र मार्फत तीन महिना भित्र टुङ्गो लगाउने तीन दलबीच भएको सहमतिका विषयमा प्रधानमन्त्री ओलीले मोर्चाको समर्थन जुटाउने तयारी गर्नु भएको हो । उता मोर्चाले भने सिमांकनका विषय अहिले नै टुङ्गयाउनु पर्ने अडान राख्दै आएका छन् ।