काठमाडौ १८ मङ्सिर ।
भारतीय नाकाबन्दीका कारणसहज रुपमा आपूर्ति हुन नसक्दा मुलुकका विभिन्न स्थानमा अत्यावश्यकीय औषधिको अभाव भएपछि बिरामीहरु मारमा परेका छन् ।
नवलपरासीका स्वास्थ्य संस्थाहरुमा लामो समयदेखि अत्यावश्यकीय औषधिको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको बताइएको छ ।
जिल्लामा यतिबेला विभिन्न एन्टिवाइटिक औषधि सहित अक्सिजन, गर्भवतीलाई प्रयोग गरिने सुईको चरम अभाव देखिएको छ ।
उपचार सेवा लिन आएका बिरामीलाई परीक्षण गरे पनि आवश्यकता अनुसार औषधि दिन नसक्दा बिरामी समस्यामा परेको पृथ्वीचन्द्र अस्पतालका प्रमुख चिकित्सक मोहमद नुरुल होलाले बताउनुभयो ।
विभिन्न सरकारी स्वास्थ्य संस्थामा सरकारले ७० प्रकारका औषधि निःशुल्क रुपमा प्रदान गर्ने जनाए पनि हाल जिल्लाको जिल्ला अस्पताल सहित प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा जम्मा पाँचदेखि सातवटा औषधिमात्र रहेको छ ।
गाउँगाउँमा रहेका स्वास्थ्य चौकीमा बिरामी उपचार सेवा लिन आए पनि औषधि अभावमा उपचार सेवा पाउनबाट वञ्चित भएको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रका वरिष्ठ स्वास्थ्य सहायक सुरेन्द्रकुमार शाहले बताउनुभयो ।
जिल्लामा एक जिल्ला अस्पताल, पाँच प्राथमिक स्वास्थ्य केन्द्र, र ७१ वटा स्वास्थ्य चौकी रहेका छन् । यसबाहेक निजी क्षेत्रका पाँच ठूला अस्पताल र दर्जनौँ स्वास्थ्य क्लिनिक छन् ।