काठमाण्डौ,१७ मंसिर ।
धनुषामा यस वर्ष धान उत्पादनमा ३० प्रतिशतले कमी आएको छ । पर्याप्त वर्षा नहुनु, रासायनिक मलको आभाव, रोग कीराको प्रकोप तथा कमला सिँचाइ आयोजनाले पर्याप्त मात्रामा पानी नछाडेको कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आएको हो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आव २०७२÷७३ मा ५६ हजार ३९० हेक्टर क्षेत्रफलमा धान खेती गरेकामा एक लाख ४३ हजार ६५३ मेट्रिक टन मात्र उत्पादन भएको छ । आव २०७०÷७१ मा किसानले ६२ हजार २०० हेक्टर क्षेत्रफलमा धान खेती गरेको मा दुई लाख १६ हजार १४४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षभन्दा यसवर्ष करिब रु एक अर्ब ३० करोड ४८ लाख ३८ हजारको ७२ हजार ४६१ मेट्रिक टन कम धान उत्पादन भएको छ । जिल्लामा ३८ हजार ८३५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा रहेपनि कमला सिँचाइबाट पर्याप्त मात्रामा पानी नछाड्दा यस वर्ष धान उत्पादनमा कमी आएको योजना अधिकृत सुरेन्द्र गोइतले बताउनुभयो ।
कमला सिँचाइ योजनाबाट जिल्लाको पूर्वी क्षेत्रमा १२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुनुपर्नेमा त्यस्तो नभएकाले यस वर्ष धान उत्पादनमा कमी आएको बताइएको छ । सरकारले धानबालीको पकेट क्षेत्र विस्तार गरी किसानलाई व्यावसायिक रुपले खेती गर्न ७५ प्रतशित अनुदानमा जिल्ला कृषि विकास कार्यालयमार्फत उन्नत जातको धानको बीउ उपलबध गराउँदै आएको छ ।
जिल्लामा सोना मन्सुली, मन्सुली बासमती, सवर्णसव एक, रामधान, सुख्खा १,२,३ जस्ता धानखेती हुँदै आएको छ । जिल्लाको सबैला, रघुनाथपुर, भटिहन, चोरा, कोयलपुर, गोठकोयलपुर, यदुकोहा, हरिपुर, हडवारा, सोनिगामा, खरिहानी, बनिनिया, सिनुरजोडा, लक्ष्मीपुर, वेगालगायत गाविसमा सिञ्चित क्षेत्र भए पनि हाल त्यस भेगमा त्यति मात्रामा धान खेती भने हुन सकेको छैन ।
सरकारले धानको समर्थन मूल्य तोक्न नसक्दा हाल बजारमा नयाँ धान प्रतिक्विन्टल रु एक हजार ८०० मा बिक्री हुँदै आएको छ