रुपन्देही, १६ मङ्सिर ।
फोहर व्यवस्थापनका लागि स्थायी ‘डम्पिङ साइट’को व्यवस्था नहँुदा रुपन्देहीका अधिकांश वन प्रदूषित बनेका छन् । जिल्लाका सहर बजारबाट निस्कने फोहरलाई वन क्षेत्रमा लगेर व्यवस्थापन गर्ने गरेका कारण यहाँका सबैजसो वन प्रदूषित बन्न पुगेका हुन् ।
बजार क्षेत्रबाट दैनिक रुपमा निस्कने फोहरमैलाको व्यवस्थापन गर्ने स्थान वन क्षेत्र बनाइँदा स्वच्छ हावा पाइने वन दुर्गन्धित बन्न पुगेका छन् । अहिले बजार क्षेत्रका फोहरमैला वनको आसपासमा लगेर व्यवस्थापन गर्ने गरिएका छन् । रुपन्देहीका सबै नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्ने कुरा सधँै टाउको दुखाइको विषय बनिरहेको छ ।
जिल्लाका पुराना बुटवल र सिद्धार्थनगर नगरपालिकामा अहिलेसम्म स्थायी डम्पिङ साइटको व्यवस्था भएको छैन । नयाँ नगरपालिकाले डम्पिङ साइटको योजना बनाउनसमेत भ्याएका छैनन् । यसैको सिधा असर वन क्षेत्रमा परेको हो । संस्थागत निर्णय गरेर कुनै पनि नगरपालिकाले वन क्षेत्रमा फोहर फालेका छैनन् । तर अघोषित रुपमा सहरी क्षेत्रको फोहर वनमा आउने गरेको छ । खासगरी महेन्द्र राजमार्गसँग जोडिएको वन क्षेत्र र राजमार्ग छेउछाउका इलाका फोहरमैलाबाट बढी प्रदूषित भएका छन् ।
सहरी क्षेत्रमा फोहरमैलाको सङ्कलन र व्यवस्थापन प्रणाली विकास नहुँदा त्यसको प्रभाव वन क्षेत्रमा परेको वातावरणविद् युवराज कँडेल बताउनुहुन्छ । अव्यवस्थित तरिकाले फालिने फोहरका कारण वन क्षेत्र कुरुप बन्दै गएको छ भने आमनागरिकमा समेत समस्या निम्तिएको छ ।
तिलोत्तमा–११ का बासिन्दासमेत रहेका कँडेलले भन्नुभयो – “बुटवलको पूर्वी सिमाना सुखौरा खोलादेखि सुरु हुने राजमार्ग छेउछाउका वन क्षेत्र अहिले डम्पिङ साइट जस्तै बनेका छन् । यो वन क्षेत्र अहिले विभिन्न सङ्घ÷संस्था, व्यक्ति र व्यवसायीको फोहर फाल्ने ठाउँ बनेको छ ।” यहाँ जथाभावी फालिएका टुटेफुटेका काँच, ब्लेड, धातु, सिरिन्जलगायतले वन क्षेत्रमा जाने जो कोही पनि घाइते बन्ने अवस्था छ । फोहरकै कारण कतिपय वनमा त जानै नसक्ने अवस्थासमेत छ ।
“सडक छेउमा सिसालगायतका फोहर फालेको प्रस्टै देखिन्छ, फोहरका कारण जङ्गलभित्र जान पनि मन लाग्दैन,” तिलोत्तमा–१५ की शर्मिला थापाले भन्नुभयो – “कतै सिसाले खुट्टा काट्छ कि भन्ने डर छ भने फोहरको दुर्गन्धले बिरामी हुने डर पनि यथावतै छ ।” जथाभावी फोहर फालिँदा वनमा घाँस, दाउरा गर्न जाने र पशुचौपाया चराउन जानेहरु पनि निकै समस्यामा परेका छन् ।
सडक किनारको वन क्षेत्रमा सवारीसाधनले फोहर ल्याएर फाल्ने गरेको स्थानीय जनता बताउँछन् । त्यसो त सहरी क्षेत्रमा उत्पादित फोहर व्यक्तिले बोरामा उठाएर वनमा फाल्ने प्रवृत्ति कुनै नौलो होइन । यो नियमित प्रक्रिया जस्तै देख्न पाइन्छ । सडकको दायाँबायाँ बोरा र प्लास्टिकमा फोहरको थुप्रो देखिन्छ । वनमा फोहर बढेपछि यो क्षेत्रका सामुदायिक वनहरुले वनमा तारबार गरेर फोहर रोक्ने प्रयास गरेका छन् तर पनि फोहर फाल्ने क्रम रोकिएको छैन । करहिया सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष लक्ष्मी थापाले भन्नुभयो – “हामीले फोहर रोक्न योजना बनाएर अगाडि बढ्ने सोच बनाएका छौँ ।”
वन क्षेत्रमा फोहरमैला फाल्ने प्रवृत्ति बढेपछि सरोकारवाला निकायले जरिवाना गर्ने निर्णय गरेका छन् । स्थानीय सामुदायिक वन, प्रहरी र प्रशासनले ठाउँ–ठाउँमा होर्डिङ बोर्ड राखेर वनमा फोहरमैला नफाल्न चेतावनी दिएका छन् । सार्वजनिक सूचना जारी गरेर वन क्षेत्रमा फोहर फाल्नेलाई पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनाको कैद सजाय गर्ने चेतावनी दिइएको छ । यस्तै, फोहर फालेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था मिलाइएको छ । यति गर्दागर्दै पनि वनमा फोहर फाल्न रोकिएको छैन ।
“आखिर फोहर फाल्ने कहाँ त ?,” तिलोत्तमा नगरपालिकाका एक नागरिकले नाम नबताउने सर्तमा भने – “विकल्प दिए वनमा फोहर आउने थिएन । फोहर फाल्ने ठाउँको अभावमा आम नागरिक यसो गर्न बाध्य भएका हुन् ।” फोहरमैला व्यवस्थापनको स्थायी समाधानको उपाय नहुँदासम्म वनको खाली भागमा खाडल बनाउने र त्यसमा फोहर थुपारेर पुर्ने एउटा विकल्प हुन सक्ने एकथरिको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाले वडा नं ९ स्थित शिवनगर सामुदायिक वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र बनाउने तयारी गरिरहेको छ । चर्चा धेरै भएको भएपनि यो परियोजनाले अहिलेसम्म मूर्त रुप लिन सकिरहेको छैन । रुपन्देहीमा सबैभन्दा बढी फोहर बुटवलमा सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहर तिनाउ खोलाको बगरमा फाल्ने गरेको बताए पनि बुटवल नजिकैको वन क्षेत्रमा अघोषित रुपमा फोहर फाल्ने काम भइआएको छ । महेन्द्र राजमार्गको दायाँबायाँ वनमा फोहरका डङ्गुर देखिन्छन् । गत वर्ष नगरपालिका घोषणा भएकामध्ये तिलोत्तमा नगरपालिकामा फोहरमैलाको समस्या अझै बढी देखिएको छ । यसको दुष्प्रभाव नगरपालिकाभित्र रहेका शङ्करनगर, करहिया र सुखौरा हरियाली सामुदायिक वनमा देखिएको छ । तीव्र गतिमा सहरीकरण भइरहेका गाविसहरु मिलेर बनेको नगरपालिका भएकाले तिलोत्तमामा फोहरमैला व्यवस्थापनको समस्या बढी भएको हो ।
“तुलनात्मक रुपमा तीव्र सहरीकरण भएका क्षेत्रमा फोहरमैला व्यवस्थापन मुख्य चुनौती बनेको छ,” नगरपालिकाका शाखा अधिकृत मुक्तिप्रसाद पाण्डेले भन्नुभयो ।
डम्पिङ साइटका लागि तिलोत्तमा नगरपालिकाले गत वर्षदेखि नै जग्गाको खोजी गरिरहेको छ । वन क्षेत्रमा डम्पिङ साइट बनाउन दिन जिल्ला वन कार्यालय असहमत छ । साबिक आनन्दवन गाविसमा सङ्कलन हुने फोहर तिनाउ नदीको किनारमा खाडल खनेर पुरिने गरिएको छ । यहा“ अन्यत्रबाट फोहर ल्याउन स्थानीयवासीले दिएका छैनन् । “नगरपालिकाले फोहर सङ्कलन गर्ने प्रयोजनका लागि सवारीसाधन पनि खरिद गरिसकेको छ तर उठाएको फोहर फाल्ने ठाउँ छैन,” पाण्डेले भन्नुभयो ।
देवदह नगरपालिकामा फोहरको मात्रा बढ्दै गइरहेको छ । केही वर्षअघिसम्म घरमै व्यवस्थापन हुने ठोस फोहर अहिले सडकमा देखिन थालेका छन् । जताततै घर बनेपछि खाली ठाउँको अभाव हुँदा यसअघि स्थानीयस्तरमै व्यवस्थापन हुने फोहर अहिले सार्वजनिक ठाउँमा देखिने गरेको हो । सीमित जग्गामा घर बनाउने र घरका कोठाहरु भाडामा दिने प्रचलन बढ्दै गएपछि फोहरमैलाको उत्पादन बढ्दै गएको स्थानीयवासीको भनाइ छ । तीव्र सहरीकरण र साँघुरो क्षेत्रमा घर बनाइनु नै फोहरमैला व्यवस्थापनका मुख्य चुनौती हुन् । नयाँ नगरपालिकामा अहिले कुला, खोल्सा, सार्वजनिक जग्गा, व्यक्तिका खाली जग्गामा फोहर थुपार्ने प्रवृत्ति बढेको छ । सीमित जग्गामा घर बनेकाले उत्पादित फोहर कुहाउने ठाउँसमेत कतिपय व्यक्तिको छैन । फोहर कुहिए पनि त्यसलाई प्रयोग गर्ने करेसाबारी छैन । यस्तो अवस्थामा व्यक्ति÷व्यक्तिले घरमा सङ्कलन भएको फोहर विकल्पै नभएर वनमा ल्याएर फाल्ने गरेका हुन् । रासस