काठमाडौ १४ मंसिर ।
नेपालमा घोषणा भएको संविधानप्रति असन्तुष्टी जनाउदै भारतले नेपालमाथि लगाइएको नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गर्न ‘राष्ट्रिय स्वाधीनता अभियान’ले आज मानव साङ्लो प्रदर्शन गर्दैछ ।
‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने नाराका साथ आज दिउँसो २ बजेदेखि देखि ३ बजेसम्म सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव सांग्लो प्रदर्शन गर्न लागिएको हो ।
राष्ट्रका पक्षमा राष्ट्रिय झण्डासहित सिंहदरबारदेखि राष्ट्रसंघको कार्यालय पुल्चोकसम्म मानव साङ्लो बनाइने अभियानले जनाएको छ । अभियानका नेता तथा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालले भोगेको संकटलाई अन्तर्राष्टियकरण गर्नका लागि सिंहदरबार र राष्ट्र संघलाई जोड्न लागेको बताउनुभयो ।
हाम्रो आन्तरिक समस्या हामी आफैं समाधान गर्न सक्छौं भन्ने सन्देश दिनका लागि आजको प्रर्दशनको आयोजना गरेको गैरेको भनाई छ । अभियानमा कवि, लेखक, कलाकार, बुद्धिजीवी, विद्यार्थी तथा युवाहरुको सहभागिता रहनेछ ।
मानव साङ्लो निर्माणसँगै अभियानले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्या बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको कार्यक्रम रहेको छ ।