काठमाडौँ, १४ मङ्सिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दलबीच आज संयुक्त वार्ताका लागि आह्वान गर्नुभएको छ ।
तराई मधेसमा विगत लामो समयदेखि देखापरेको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले त्रिपक्षीय बैठक बोलाउनु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागी संयुक्त वार्ताको आह्वान गरिएको छ ।
समस्या समाधानका लागि सबै पक्षलाई सकारात्मक ढङ्गले प्रस्तुत हुन र मुलुकले भोग्नुपरेको समसयालाई वार्ता र संवादका माध्यमबाटै हल गर्नका लागी प्रधानमन्त्रीले संयुक्त छलफलको आयोजना गर्नुभएको हो ।
पछिल्ला दिनमा समस्या समाधानको विषयलाई लिएर प्रमुख दल र आन्दोलनरत दलबीच सार्थक वार्ता हुन नसकिरहेका बेला प्रधानमन्त्रीले आजका लागि आह्वान गर्नुभएको वार्तालाई सकारात्मक रूपमा हेरिएको छ ।
वार्तामा प्रधानमन्त्री ओलीले सरकारमा सहभागी प्रमुख दलका नेता, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दलका शीर्ष नेतालाई बोलाउनुभएको छ ।
वार्तालाई सकारात्मक बनाउने उद्देश्यका साथ एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले पनि आवश्यक तयारी गर्नुभएको छ । सोही तयारीअनुसार नै शनिबार उहाँले प्रधानमन्त्री ओली र काँग्रेस सभापति सुशील कोइरालासँग छलफल गर्नुभएको थियो ।
मधेसी मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग अगाडि सारेको छ । यस्तै, सङ्घीय संरचनाको सीमाङ्कनमा पनि प्रष्ट धारणा आउनुपर्ने मोर्चाको माग छ ।
मोर्चाले उठाएका विषयमध्ये तत्काल पूरा गर्न सकिने मागलाई संविधान संशोधनका माध्यमबाट समाधान गर्ने र अन्य मागलाई उच्चस्तरीय राजनीतिक समिति तथा संसदीय समितिमार्फत अगाडि बढाउन सकिने प्रस्ताव एमाओवादी अध्यक्ष दाहालले राख्दै आउनुभएको छ ।
काँग्रेसले भने आफू नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरिए समस्या समाधानमा मार्गप्रशस्त हुने धारणा राख्दै आएको छ ।