काठमाण्डौ,१३ मंसिर ।
भक्तपुर नगरपालिकाभित्रको मुख्य सडकका रुपमा रहेको ब्याँसी–कमलविनायक सडक तत्काल विस्तार गर्न भक्तपुर नगरपालिकाका बासिन्दाले माग गरेका छन् ।
दुई वर्षअघि नै सडक मापदण्डअनुसार घर भत्काउन सडक विस्तार आयोजनाले चिह्न लगाए पनि नगरपालिकाले विस्तार गर्न नदिएको भन्दै तत्काल सडक विस्तार गर्न उनीहरुले माग गरेका हुन् ।
नगरपालिका–४ कमलविनायकका रामकृष्ण मानन्धरले पर्यटकीय क्षेत्र नगरकोट जाने एक मात्र सडकका रुपमा रहेको ब्याँसी –कमलविनायक सडक १० मि दायाँ र १० मि बायाँ गरी २० मिको हुनुपर्ने भए पनि मापदण्ड मिचेर बनाएका घर भत्काएर सडक विस्तार नगर्दा निकै सास्ती खेप्नुपरेको बताउनुभयो ।
कमलविनायकबाट काठमाडाँै, नगरकोट, सुडाल र छालिङ जाने मार्गमा यातायातका साधन चल्ने एक मात्र सडकका रुपमा रहेको सो सडक खण्डमा दैनिक सडक जाम र दुर्घटना हुने भएकाले सडक विस्तार गर्न हतारो भएको उहाँको भनाइ थियो ।
नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले तत्कालको अवस्थामा सडक फराकिलो पार्न समस्या रहेको बताउँदै स्थानीयवासीले अवरोध नगरे फराकिलो पार्न सकिने प्रतिक्रिया दिनुभयो ।