काठमाडौँ, १२ मङ्सिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्धचेत अवस्थामा रहनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वमहासचिव गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
ललितपुरको नख्खु दोबाटोस्थित उहाँको डेरामा आज पुगेर प्रधानमन्त्री ओलीले उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले उहाँको परिवारलाई सरकारका तर्फबाट गर्न सक्ने सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विसं २०६९ वैशाख १२ गते काठमाडौँको प्रदर्शनीमार्गमा मोटरसाइकलको ठक्करबाट लडेर अशक्त हुनु भएका खपाङ्गीको चार पटक शल्यक्रिया भइसकेको छ ।
सुरुमा वीर अस्पताल, न्युरो अस्पताल र नर्भिक अस्पताल हुँदै सिङ्गापुरसम्म पु¥याएर उहाँको उपचार गरिए पनि स्वास्थ्य अवस्था भने आवश्यक सुधार हुन नसकेको परिवारले जनाएको छ । टाउकामा लागेको गम्भीर चोटका कारण उहाँको शरीरको एकापट्टिको भाग चल्दैन भने उहाँ बोल्न सक्नुहुन्न ।
एकहत्तर वर्षीय खपाङ्गीको उपचारका लागि हालसम्म शुभचिन्तक, आफन्तले सहयोग पु¥याउँदै आएका छन् । हालसम्म उहाँको उपचारका लागि रु एक करोड ७५ लाख खर्च भइसकेको छ । अस्वस्थ अवस्थामा रहनुभएका खपाङ्गीलाई खिलराज रेग्मी नेतृत्वको सरकारले दुई पटक गरी रु पाँच लाख सहयोग उपलब्ध गराएको परिवारले जनाएको छ ।