नाकाबन्दीले निर्यात नहुदा करोडौँको अदुवा नष्ट हुदै

नाकाबन्दीले निर्यात नहुदा करोडौँको अदुवा नष्ट हुदै

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

पाल्पा, ११ मङ्सिर ।

भारतले गरेको नाकाबन्दीका कारण पाल्पाका किसानलाई यसबर्ष करोडौको घाटा हुने भएको छ ।
यसवर्ष भारत निर्यात गर्न नपाउँदा करोडौँ रुपैयाँको अदुवा बारीमै कुहिने अवस्थामा पुगेको छ ।

जिल्लाको पचासभन्दा बढी गाविसका करिब पाँच हजार कृषकको दिगो आम्दानीको स्रोत अदुवा खेती बनेको छ । यहाँ उत्पादित अदुवामध्ये ९० प्रतिशत भारतीय बजार निर्यात हुने गरेको छ । मधेस आन्दोलन र नाकाबन्दीका कारण कृषकले ठूलो नोक्सानी बेर्होनु परेको छ ।

छहराकी कृषक गोमा घिमिरेले अदुवा लगाएर मनग्य कमाई लिने उद्देश्यले यसवर्ष दुई हजार ५०० किलो बीउ किनेर बारीमा लगाउनुभएको थियो । अदुवाको उत्पादन पर्याप्त भएपनि बजारमा निर्यात गर्न नपाउँदा उहाँ चिन्तित हुनुहुन्छ ।

“अदुवा बिक्री गरेर छोराछोरीलाई पठनपाठनमा सहज हुनेछ भनेको त बारीमै कुहेर जाने भयो” उहाँले भन्नुभयो । नाकाबन्दीका कारण रु तीन लाखको अदुवा नोक्सान हुनेको उहाँको भनाइ छ ।

गोमाको मात्र होइन उहाँजस्ता यस क्षेत्रका एक सयभन्दा बढी कृषक बजारमा अदुवा निर्यात गर्न नपाउँदा चितिन्त बनेका छन् । अदुवा व्यवसायबाट मनग्य आम्दानी हुने देखेपछि गतवर्ष प्रतिधार्नी रु तीन सयमा बीउ खरिद गरी किसानले बारीभरी अदुवा लगाएका थिए ।

छहरा गाविसबाट मात्र गतवर्ष झण्डै रु एक करोडको अदुवा बिक्री भएको कृषक सवित्रा कँडेलले बताउनुभयो । परम्परागतरुपमा गरिँदै आएको अदुवा खेती नगदेबाली अन्र्तगत पर्ने हुँदा पछिल्लो समय धेरै कृषकको आम्दानीको बलियो माध्यम बनेको थियो । कृषकले केही वर्ष यता व्यवस्थितरुपमा उन्नत जातको बीएको प्रयोग गरी उत्पादनमा जोड दिँदै आएका छन् ।

गाउँ घरमा खेर गएका पाखो पखेराको सदुपयोग गरी व्यावसायिकरुपमा अदुवा खेती गरेर छोराछोरी पढाउन, घर व्यवहार चलाउन गतिलो आम्दानीको स्रोत नै बनेको थियो । समथर भूभागभन्दा उच्च भेग अदुवा उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । अदुवाको मूल्य राम्रो हुँदाहँुदै पनि सरकारले स्वदेशमा प्रशोधन केन्द्र निर्माण नगरी भारत निर्यातमा जोड दिएका कारण कृषकले यो समस्या झेल्नु परेको छहराका कृषक भुवन रायमाझीले बताउनुभयो ।

गोठादी गाविसका व्यापारी रोशन खाम्चा भन्नुहुन्छ, “गतवर्ष रु पचास लाखभन्दा बढीको अदुवा खरिद बिक्री गरेकोमा यसवर्ष रु एक लाखको पनि कारोबार गर्न सकिएको छैन्” । आर्यभज्याङग, पिपलडाँडा, रामपुर, झडेवा, डुम्रेजस्ता बजारमा भारतीय व्यापारी स्वयम् आएर कृषकबाट अदुवा खरिद गर्दा कुनै मेला वा पर्व लागेजस्तै हुन्थ्यो । तर अहिले यस्ता बजार सुनसान जस्तै भएका छन् ।

जलदेवी प्राथमिक विद्यालय मित्यालका प्राधानाध्यापक लाल बहादुर सोती भन्नुहुन्छ, “कृषकले अदुवा विक्री गर्न नपाउँदा बालबालिकाको पठनपाठनमा समेत समस्या उत्पन्न भएको छ ।”

विगत १३ वर्षदेखि अदुवा ब्यवसायमा लाग्नुभएका बराङ्गदीका कृषक पशुपति बस्याललाई पनि २७ रोपनी जग्गामा लगाएको अदुवा कसरी बिक्री गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ ।

अदुवा व्यवसायिक सङ्घ पाल्पाका अध्यक्षसमेत रहनु भएका बस्यालले बिगतका वर्षमा अदुवाबाट खर्च कटाएर वार्षिक रु दुईदेखि साढे दुई लाखसम्मको आम्दानी लिने गर्नुहुन्थ्यो, अहिले भने बिक्री गर्न नपाउँदा आपूmजस्ता सयौँ कृषक मर्कामा परेको बताउनुहुन्छ ।

उत्पादित अदुवाबाट सुठो, तेल, मसला, विभिन्न किसिमका सेन्टहरु, अचार बनाउन सकिने हुँदा पहिलेदेखि नै अदुवाको माग देश विदेशमा बढ्दो छ । जिल्लाको खानीगाउँ, बराङ्गी, पालुङ्गमैनादी, फेक, सिलुवा, मित्याल र भैरवस्थानलगायतका क्षेत्र अदुवाको लागी मुख्य पकेट क्षेत्र मानिन्छन् ।

नाकाबन्दीका कारण यो वर्ष भारतीय व्यापारी अदुवा खरीदका लागि नआएको व्यापारीको भनाइ छ । जिल्लाको एक हजार ५५० हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा अदुवा खेती गरिन्छ । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार अदुवाको वार्षिक उत्पादन १४ हजार ५३० रहेको छ । जिल्लामा उत्पादित अदुवा तीन हजार ७५२ मेट्रिक टन काचो, क्याण्डी र चानाको रुपमा भारतलगायतका अन्य मुलुकमा निर्यात हुने गर्दछ ।

वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाका अनुसार गतवर्ष रु पचास करोडभन्दा बढीको अदुवा भारतका विभिन्न बजारमा निर्यात भएको थियो । “यसवर्ष नाकाबन्दीले भारतीय बजारमा निर्यात गर्न नसक्दा कृषकलाई ठुलो मर्का परेको छ” उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी