इलाम, ११ मङ्सिर ।
पूर्वसभामुख सुवास नेम्वाङले पहिले संविधान स्वीकारेर प्रधानमन्त्री निर्वाचनमा सामेल हुने तर अहिले त्यहि संबिधान मान्दैनौ भन्नुको कुनै तर्क नहुने बताउनु भयो ।
उहाले भन्नुभयो ,“प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्न चाहिँ आउने तर अहिले हामी संविधान मान्दैनौँ भनेर आन्दोलन र नाकाबन्दी गर्ने यो कुनै तर्क हुन्छ ?” तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले प्रश्न गर्दै भन्नुभयो, “तपाईंहरूलाई चित्त नबुझेको छ भने संविधान संशोधन गरेर अघि बढौँ, समस्या समाधान हुन्छ ।”
नेकपा (एमाले) इलामद्वारा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता नेम्वाङले पहिले नाकाबन्दी फिर्ता लिएर देशलाई सहजतातर्फ उन्मुख हुन दिएपछि मात्र मधेसकेन्द्रित दलको माग सम्बोधन हुने बताउनु भयो ।
नेपालको आन्तरिक मामलामा छिमेकीले पनि धेरै चासो राख्नु ठीक हुँदैन भन्दै उहाँले अहिलेको समस्यामा हस्तक्षेप नगर्न छिमेकी राष्ट्रलाई आग्रह गर्नुभयो ।
लामो समयदेखि संविधान निर्माणमा खटेकाले अब आफू विकास निर्माण र जनताको सेवा गर्न चाहेको उहाँको भनाइ थियो ।