धानले भाउ पाएपछि कृषक उत्साहित

धानले भाउ पाएपछि कृषक उत्साहित

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

पाँचथर, ११ मङ्सिर ।

इन्धन अभावको कारण खाद्यान्नको मूल्य बढ्न थालेपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषकले उत्पादन गरेको धानले भाउ पाउने भएको छ ।

विगतका वर्षमा धानले खासै भाउ नपाउँदा निरास बन्ने गरेका कृषक यस वर्ष सीमामा देखिएको समस्याका कारण अधिकांश चामालको मूल्य बढेपछि धानले भाउ पाएको कृषक बताउँछन् । थर्पुका कृषक चन्द्रमणि बाँस्कोटाले भन्नुभयो, “गत वर्ष धान सस्तैमा बिक्री गरेका थियौँ, यस वर्ष इन्धन अभावले गर्दा तराईको चामल र पहाडको चामलभन्दा महँगो हुने भएपछि मानिसले धानै किन्न थाले ।”

गत वर्ष धान रु एक हजार २०० प्रतिमन बिक्री गरेका कृषक यस वर्षको यामको सुरुआतमै रु एक हजार ५०० देखि एक हजार ८०० सम्ममा बिक्री गर्न सफल भएका छन् । जिल्लाका सराङडाँडा, नाँगिन, थर्पु, नाँगी, याङ्नाम, मेमेङ, प्राङबुङ, सिदिन, च्याङ्थापु, फलैँचा लगायत गाविसमा उत्पादन हुने धान प्रायः जिल्लामै खरिदबिक्री हुने गर्छ । यस्तै पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, इलामका कृषकले उत्पादन गरेको धानले पनि भाउ पाएको छ ।

प्रायः अहिले बजारमा इन्धनको अभाव देखाउँदै अधिकांश खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले ४० प्रतिशत मूल्य वृद्धि गरेका छन् । केही समयअघिसम्म रु एक हजार ५०० प्रतिमनमा बिक्री भइरहेको जिरा चामल अहिले रु दुई हजारसम्ममा बिक्री भइरहेको छ । यस्तै गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

धान रोप्ने बेलामा पर्याप्त वर्षात भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने कार्यालय प्रमुख बेनु प्रसार्इंले जानकारी दिनुभयो । कुल क्षेत्रफलको ९० प्रतिशत जमिनमा अर्थात् १० हजार ३५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कार्यालयको तथ्याङ्कमा छ । यस्तै गत वर्ष भने नौ हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको थियो, जसबाट १९ हजार ९२३ मेट्रिक टन धान उत्पादन भएको थियो । पाँचथर जिल्लाको धानयोग्य कुल क्षेत्रफल ११ हजार ५०० हेक्टर रहेको कार्यालयले जनाएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी