काठमाडौ ११ मंसिर ।
आन्दोलनका क्रममा गत शनिबार र आइतबार प्रहरीको गोली लागेर सप्तरीमा मृत्यु भएकाहरुको आज दाहसंस्कार गरिदै छ ।
आन्दोलनरत मधेसी मोर्चाले राखेको मागलाई जिल्ला सुरक्षा समितिले निर्णय गरेर कार्यान्वयनका लागि गृह मन्त्रालय पठाएपछि मृतकहरुको आज अन्तिम संस्कार गर्न लागिएको हो ।
मोर्चाले सप्तरीको भारदह, रुपनी र राजविराजमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार गर्ने लगायतका माग राखेका थिए ।
आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर राजविराज–१ का दिलिपकुमार साह, डाढा–७ का विरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकीका नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका शिवशंकर दासको मृत्यु भएको थियो ।
उनीहरुको शव सदरमुकाम राजविराज ल्याएर शवयात्रा निकाली अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाइने बताइएको छ ।