काठमाडौं, ११ मंसिर ।
इन्धनमा कालोबजारी र तस्करी बढ्न थालेपछि प्रहरीले कार्वाही अभियान तीव्र पारेको छ ।
बुधबार र बिहीबार दुई दिनमा काठमाडौंबाट २० हजार लिटरभन्दा धेरै तस्करीको तेल बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध रुपमा पेट्रोलियम पदार्थ ल्याउदै गरेका १३ वटा गाडीका चालक पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा नाका हुदै उपत्यका भित्रिने सवारी साधनलाई चेकजाँच गर्दा अवैध रुपमा ल्याएका पेट्रोलियम पदार्थ सहित १३ जना चालकलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचको क्रममा १६ हजार १ सय ७० लिटर डिजेल ,२ हजार २ सय २५ लिटर पेट्रोल र २ हजार ३ सय लिटर मट्टितेल सहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लियन्त्रणमा लिएका चालकलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ टेकु पठाइएको छ ।
त्यस्तै बढी मुल्यमा पेट्रोलियम पदार्थ बेच्दै गरेको अवस्थामा कोटेश्वरबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ्ग बुद्धनगर घर भएका १९ वर्षिय अनिल राजबंशी र बिराटनगरका ४६ वर्षिय प्रेम दाहाल रहेका छन् ।
हिजो दिउसो सवा १२ वजे उनीहरुले बढी मुल्यमा पेट्रोल बिक्रि गरीरहेको छ भन्ने जानकारी प्राप्त हुनसाथ महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले १ सय ३५ लिटर पेट्रोल सहित पक्राउ गरेको हो ।