काठमाडौ १० मङ्सिर ।
बागलुङ नगर क्षेत्रमा बन्ने सडक तथा भवनको नयाँ मापदण्ड लागू भएको छ । नगरपालिकाले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मामदण्ड–२०७२ तयार गरेको छ ।
एकीकृत योजना तर्जुमा समिति, नगरपालिकाको बोर्ड बैठक हुँदै विशेष नगरपरिषद्बाट सो मापदण्ड स्वीकृत गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
बुधबारदेखि नै मापदण्ड लागू गरिएको र गत वैशाखको भूकम्पपछि रोकिएको नक्सा पासको काम पनि अघि बढ्ने कार्यकारी अधिकृत युवराज अधिकारीले बताउनुभयो ।
विशेष नगर परिषद्ले नगर क्षेत्रको भूभागलाई व्यापारिक र आवासीय क्षेत्रमा वर्गीकरणसमेत गरेको छ । तोकिएको मापदण्डअनुसार आवासीय क्षेत्रमा पक्की घर बनाउँदा अनिवार्य जग छ फिट , पिलरको खाल्डो चार फिट, चौडाइ ६ इन्च र पिलरको आकार १२÷१२ इन्च हुनुपर्ने व्यवस्था छ ।
त्यस्तै बिमको आकार ९÷१२ इन्च हुनुपर्ने, झ्याल र ढोकामा ‘सिल’ र ‘सेन्टेल’ राख्नुपर्ने तथा डेढ मिको सधियार (सेट ब्याक) छाड्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । साँघुरो सडक भएको स्थानमा अग्लो घर निर्माणमा रोक लगाइने अधिकारीले बताउनुभयो ।
यसअघिको मापदण्डबमोजिम बनेका घरमा तला थप्नुपर्ने भएमा घरको अवस्था हेरी ९÷९ इन्चको पिलर–बिम भएको घरमा साढे दुई तला र ९÷१२ इन्चको पिलर–बिम भएको घरमा तीन तला नबढ्ने गरी स्वीकृति दिइनेछ ।