काठमाण्डौ,९ मंसिर ।
बाँकेमा विपन्न वर्गका लागि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण बढेको छ ।
चार वर्षअघि निर्धन संस्थाले बाँकेमा ‘समुदायमा आधारित लघुस्वास्थ्य सुरक्षा कार्यक्रम सञ्जीवनी’ सञ्चालनमा ल्याएको हो ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र केही गाविसमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । चालु आवका लागि यो कार्यक्रममा १३ हजार ७०१ जनाले सहभागिता जनाएका छन् । अघिल्लो आव २०७१÷७२ कोभन्दा झण्डै १० दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा भने १२ हजार २४० जना यो कार्यक्रममा सहभागी भएका थिए । वार्षिक न्यूनतम शुल्क तिरेर स्वास्थ्य उपचारबापत ठूलो रकम पाइने भएपछि सर्वसाधारणको आकर्षण बढ्दै गएको समुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कार्यक्रमका व्यवस्थापक जिताराम गौतमले बताउनुभयो ।
हरेक वर्षको वैशाख र जेठमा सञ्जीवनीमा सदस्य आबद्ध गराउने र असार १ गतेदेखि कार्यक्रम लागू हुने गरेको छ । सञ्जीवनी कार्यक्रमका लागि सेभ द चिल्ड्रेन र माइक्रो इन्स्योरेन्स एकेडेमी भारतको प्राविधिक सहयोग रहेको छ ।