काठमाण्डौ,९ मंसिर ।
भक्तपुरमा इन्धन अभावका कारण विद्युत् खपत अत्यधिक बढेपछि लोड धान्न नसक्दा ठाउँठाउँका ट्रान्सफर्मर जल्न थालेका छन ।
विशेषगरी साँझको समयमा उपभोक्ताले बढी विद्युत् खपत गर्दा ट्रान्सफर्मर र कालो तार जल्न थालेको भन्दै प्राधिकरणले आज विद्युत् खपत कम गर्न उपभोक्तालाई आग्रह गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखा अन्तर्गतको क्षेत्रमा चारवटा र ठिमी शाखा अन्तर्गतको क्षेत्रमा दुईवटा ट्रान्सफर्मर जलेका छन । विद्युत् प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले बिहानभन्दा साँझको समयमा विद्युत्को खपत बढी हुने भएकाले साँझ ट्रान्सफर्मर र कालो तारसमेत जल्ने गरेको बताउनुभयो ।
एकैपटक बढी विद्युत् खपत हुने भएपछि लोड धान्न नसक्दा ट्रान्सफर्मर जल्ने, फ्यूज जाने गरेको उहाँको भनाइ छ । यसले पटक÷पटक बत्ती निभ्ने गरेकाले स्थानीयवासीले नियमित विद्युत् आपूर्तिको माग गर्दै प्राधिकरणमा आउने गरेका छन ।