काठमाण्डौ,९ मंसिर ।
भारतीय सीमा सुरक्षा बल एसएसबीका सतना पोष्टका इन्चार्ज रणविर सिंहले आफ्ना जवानहरुबाट गोली चलेको स्वीकार गर्नु भएको छ ।
सुनसरी प्रहरी प्रमुख संजयराज शर्मालाई टेलिफोन गरी उहाँले घटनामा आफ्ना जवानहरुबाट फायर भएको स्वीकार गर्नु भएको हो ।
भारतको सुपौल जिल्लाको भीमनगर बजारबाट स्थानियले साइकलमा रसायनिक मल लिएर आउँदै गरेकाबेला दशगजामा रहेको एसएसबीले रोकेपछि विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि स्थानियलाई लक्ष्य गरेर एसएसबीले नेपाली क्षेत्र भित्र गोली चलाएको थियो । स्थानियका अनुसार भारतीय सुरक्षाकर्मीले नेपालीक्षेत्र भित्र प्रवेश गरि गोली प्रहार गरेको बताएका छन् ।
एसएसबीका इञ्चार्ज रणवीर सिंहले आफ्ना जवानहरुले गोली चलाउनु गल्ति भएकोले छानविन गरी कारवाही गर्ने आश्वासन समेत दिनुभएको नेपाल प्रहरीका एसपी संजयराज शर्माले बताउनुभयो ।
घटनाको प्रकृति हेर्दा पनि एसएसबी नेपाली क्षेत्र भित्र प्रवेश गरेको देखिएको सुरक्षा स्रोतले दाबि गरेको छ ।
एसएसबीको गोली लागि घाईते भएकाहरुको उपचार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको सघन उपचारकक्षामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।