काठमाण्डौ,९ मंसिर ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ ।
अभियानको शुभारम्भ गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले महिला हिंसा न्यूनीकरणका लागि संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्री मैनालीले महिला हिंसालाई पनि सामाजिक हिंसाकै रुपमा लिएर सामाजिक परिपाटी विरोधी कार्यक्रमलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाईँले महिला हिंसाविरुद्ध आयोगले विभिन्न खालका सचेतना कार्यक्रमलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष शेष घलेले महिला हिंसाविरुद्ध एनआरएनए सक्रिय रुपमा लागिरहेको बताउँदै हिंसा न्यूनीकरणको थालनी आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिनुभयो ।
अभियानको थालनीका क्रममा आज भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदद्वार, न्युरोड हुँदै वसन्तपुर डबलीमा पुगी कोणसभामा परिणत भएको थियो। यस्तै लैङ्गिक हिंसाविरुद्ध कञ्चनपुरको महेन्द्रनगरमा आज रयाली निकालिएको छ ।