मंसीर ८ काठमाण्डौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देशमा विषम परिस्थिति सिर्जना नभएसम्म सरकारले सेना परिचालन नगर्ने तर देशको शान्ति सु–व्यवस्थामा खलल पर्ने अवस्था आए संविधान अनुसार सेना परिचालन गर्न सकिने बताउनु भयो ।
उहाँले सेना परिचालन र प्रशासनिक दवाब दिएर तराईको आन्दोलन नियन्त्रण नहुनेमा जोड दिनु भयो ।
उहाँले देश संकटकाल तर्फ गईसकेको भन्ने निष्कर्ष सरकारले ननिकालेको तर अर्थतन्त्रमा उत्पन्न समस्याको बारेमा श्वेत पत्र जारी गर्ने तयारी भने भईरहेको बताउनु भयो ।
सरकार वार्ताको माध्यमबाट मुलुकको आन्तरिक समस्या हल गर्न तयार रहेको बताउँदै मन्त्री राईले भारतलाई पनि अघोषित नाकाबन्दी हटाउन समेत सरकारले आग्रह गरेको जानकारी दिनु भयो ।
सरकार अत्यावश्यकिय वस्तुमा भईरहेको कालाबजारीको नियन्त्रण गर्न कटिबद्ध रहेको जनाउँदै मन्त्री राईले वैकल्पिक बाटोहरुको प्रयोग गरी आपुर्ती व्यवस्था सहज बनाउन सरकार लागि परेको बताउनु भयो ।